काठमाडौं । हाम्रो दैनिकी अहिले निकै व्यस्त छ । व्यस्त दैनिकीमा पनि हामीले हाम्रो कार्य निर्धारित समयमै सम्पन्न गर्नु र कुनै पनि कामलाई पर्याप्त समय दिन निकै मुस्किल हुन्छ । यस्तोमा आफ्नो कामलाई निर्धारित समयमै कसरी सम्पन्न गर्ने त ? आज हामी त्यसको बारेमा चर्चा गर्नेछौँ ।
हामीले जीवनमा अपनाउने बानीहरू केही यस्ता पनि छन् जो हेर्दा सामान्य लाग्छन् तर त्यसले पार्ने प्रभाव भने ठूलो हुन्छ । विश्वका सफल मानिसहरूले पनि त्यस्ता बानीहरूलाई अनुसरण गर्ने गरेका हुन्छन् ।
त्यस्तै मध्येको एक बानी हो टु-डू लिस्ट अर्थात् गर्नुपर्ने कामहरूको व्यवस्थित सूची ।
तीव्र गतिमा दौडिरहेको संसारमा सबै जना दौडमा छन् । सबैलाई सफलता चाहिएको छ । यो रेशमा तपाईं मात्र होइन सबै सबै छन् । तर, सफलता त्यसले मात्र पाउँछ जसले स्मार्ट वर्क गर्न सक्यो ।
त्यसका लागि टु-डू लिस्ट सहायक बन्छ । सफल व्यक्तिहरूले पनि यसलाई अनुसरण गर्ने गरेका थिए ।
सफल व्यक्तिहरू आफ्नो हरेक दिनको योजना बनाएर हिँड्छन् । उनीहरू बिहान उठेर सोच्दैनन्, बरु पहिले नै तय हुन्छ कि उनीहरूले के गर्नुपर्छ । यही कुराले उनीहरूको काम सजिलो बनाउँछ र समयको बर्बादीबाट बचाउँछ ।
धेरैजसो सफल व्यक्तिहरू टु-डू लिस्ट बनाउँछन्, जसले उनीहरूलाई याद दिलाउँछ कि कुन काम पहिले गर्नुपर्छ र कुन पछि गर्नुपर्छ । यही बानीले उनीहरूलाई हरेक दिन अलिकति राम्रो बनाउँछ ।
टु-डू लिस्ट के हो ?
हाम्रो मस्तिस्कमा सयौँ काम हुन्छन् । धेरै कुराहरूको विषयमा सोच्न पुग्छौँ । त्यस्तो बेला सबै कुरा याद राख्न गाह्रो हुन्छ । यस्तो अवस्थामा टु-डू लिस्ट तपाईंको सफलताका लागि असल साथी जस्तै हुन्छ ।
यो सूचीमा तपाईं बिहान उठ्नेबित्तिकै ती सबै जरुरी काम लेख्नुहुन्छ, जुन तपाईंले दिनभर गर्नुपर्ने हुन्छ । उदाहरणका लागि- बैंक जानु छ, बुबालाई औषधि दिनुछ । कुनै प्रोजेक्ट पूरा गर्नु छ । साथीसँग भेटघाट गर्नुछ । कुनै सामान किन्नुछ । या कुनै मिटिङमा सहभागी हुनुछ ।
यो सूचीले तपाईंको पूरै दिनलाई व्यवस्थित मात्र गर्दैन, काम सकिएपछि त्यसमा सकिएको चिह्न लगाउँदा मनमा छुट्टै आनन्द मिल्छ । यसले दिने सन्तुष्टि छुट्टै मजाको हुन्छ । यो एउटा सानो बानीले तपाईंको समय बचाउँछ र मनलाई पनि नियन्त्रणमा राख्छ ।
किन जरुरी छ टु-डू लिस्ट ?
टु-डू लिस्टको सबैभन्दा ठूलो फाइदा यसले हाम्रो समय बर्बाद हुनबाट बचाउँछ । किनकी हामीसँग कुन समयमा के काम गर्ने र त्यसपछि के गर्ने भन्ने व्यवस्थित सूची हुन्छ ।
एउटा काम सकिनेबित्तिकै अर्को कामको योजना सुरु गर्न हामीलाई सहज हुन्छ । यसमा सबैभन्दा जरुरी काम सबैभन्दा पहिले लेखिएको हुन्छ, त्यसैले ती प्राथमिकताका साथ निपटाइन्छन् ।
यसले हामीलाई ठीक समयमा ठीक काम गर्न, कामलाई व्यवस्थित गर्न र हाम्रो व्यस्त दैनिकीलाई व्यवस्थित बनाउन सघाउ पुर्याउँछ ।
कसरी बनाउने टु-डू लिस्ट ?
हरेक व्यक्तिको टु-डू लिस्ट बनाउने आफ्नै तरिका हुन सक्छ । यसलाई तपाईं आफ्नो सुविधा अनुसार तयार पार्न सक्नुहुन्छ ।
वास्तवमा आफ्नो सुविधा र आवश्यकताअनुसार बनाइएको सूची नै सबैभन्दा राम्रो टु-डू लिस्ट हो । जसले तपाईंलाई यसको कार्यान्वयनमा सहज हुन्छ । यद्यपि यो लिस्ट बनाउँदा तपाईं निम्न कुराहरूको अनुसरण गर्न सक्नुहुन्छ ।
बिहान वा राति टु-डू लिस्ट बनाउनुहोस्
केही मानिसहरू बिहान आफ्नो दिनको सुरुवात टु-डू लिस्ट बनाएर गर्छन्, जबकि केही मानिसहरू राति नै भोलिपल्टको योजना बनाउँछन् । तपाईंलाई आफ्नो सुविधाअनुसार जुन सही लाग्छ त्यही गर्नुहोस् ।
सबैभन्दा जरुरी काम पहिले लेख्नुहोस्
सधैँ सबैभन्दा जरुरी र ठूला काम सूचीमा पहिले लेख्नुहोस्। धेरैजसो मानिसहरू बिहानको समयमा सबैभन्दा ऊर्जावान महसुस गर्छन् । त्यसैले राम्रो हुन्छ कि सबैभन्दा जरुरी काम पनि बिहानै गरियोस् ।
सानो र ठूलो कामको सन्तुलन राख्नुहोस्
सधैँ मात्र गाह्रो कामहरूको सूची नबनाउनुहोस् । यसमा साना-साना सबै कामहरू थप्नुहोस् ताकि दिनको अन्त्यमा तपाईंलाई लागोस् कि तपाईंले धेरै काम गर्नुभयो । गाह्रो कामहरूको बीचमा सजिलो काम गर्दा तपाईंलाई आराम गर्ने मौका पनि मिल्न सक्छ ।
हरेक कामको लागि समय तय गर्नुहोस्
हरेक कामको लागि हामी पहिले नै अनुमान लगाउन सक्छौँ कि त्यसलाई पूरा गर्न कति समय लाग्छ । त्यसैले हरेक कामको लागि पहिले नै समय विभाजन गर्नुहोस् । यसले तपाईंलाई धेरै राम्रो काम गर्न मद्दत गर्नेछ । कुनै पनि कुरामा हतार हुनेछैन ।
काम पूरा भएपछि टिक लगाउनुहोस्
जब पनि कुनै काम पूरा हुन्छ, त्यसलाई सूचीमा चिन्ह लगाउनुहोस् । यसले तपाईंलाई आफ्नो उत्पादकता देखाउँछ र राम्रो महसुस हुन्छ । यसले उत्प्रेरणा पनि कायम राख्छ ।
सजिलो र प्रभावकारी बानी
टु-डू लिस्ट बनाउनु एक सजिलो, तर प्रभावकारी बानी हो । यसले तपाईंको दिन धेरै उत्पादक र व्यवस्थित बनाउँछ । यो बानीले तपाईंलाई सफल मात्र बनाउँदैन बरु तपाईंको जीवनमा अनुशासन र सन्तुलन पनि ल्याउँछ ।
यदि संसारका ठूला व्यक्तिहरू यो बानीबाट सफल भए भने तपाईं किन हुनुहुन्न ? आजदेखि नै यो बानी अपनाउनुहोस् र आफ्नो दिनलाई अझ उत्पादक बनाउनुहोस् ।