काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण मुलुकमा उलटफेर भयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत भए । सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनिन् ।
कार्कीले सत्ता सम्हालेपछि पनि जेनजीका अगुवाहरूका फरक-फरक विचार र अडान सार्वजनिक भएका छन् । जेनजीको एउटा समूह यो सरकारको बचाउमा छ भने अर्को समूह यो सरकारको कडा आलोचनामा छ ।
जेनजी आन्दोलनपछि आफूलाई जेनजीको अगुवाका रूपमा चिनाएका मिराज कुमार ढुंगानाले सोमबारदेखि आन्दोलनको घोषणा गरेका छन् । उनले वर्तमान सरकारले जेनजीको आन्दोलन हाइज्याक गरेको आरोप लगाउँदै संविधान पुनर्लेखनलगायतको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
मिराज समूहले लगातार कार्की सरकारविरुद्ध आन्दोलन गर्दै आइरहेको छ । उनले सिंहदरबार घेराउदेखि बालुवाटारसम्म पुगेर प्रदर्शन गरेका छन् । आफ्ना त्यस्ता आन्दोलन र प्रदर्शनमा मिराज समूहले प्रधानमन्त्री कार्कीको चर्को आलोचना गर्ने गरेका छन् ।
उता जेनजी आन्दोलनपछि सत्ता र शक्तिको केन्द्रमा पुगेका हामी नेपाल नामक संस्थाका प्रमुख सुधन गुरुङले पनि सरकारको आलोचना गर्दै आएका छन् । उनले भने आलोचनाका केन्द्रमा प्रधानमन्त्री कार्कीलाई नभएर गृहमन्त्री ओमप्रकाश अर्याललाई राखेका छन् ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको भावनाअनुसार गृह प्रशासन नचलाएकोमा सुधन समूहको आक्रोश छ । उनले आन्दोलनकारी जेनजीमाथि 'धरपकड' भएको भन्दै अर्यालको आलोचना गरेका छन् । यसमा मिराज समूहको पनि कुरा मिलेको देखिन्छ ।
यता अर्की जेनजी अगुवा रक्षा बमले मिराज र सुधन दुवैको कडा आलोचना गर्दै फेसबुकमै लेखेकी छन् ।
यस्तो छ रक्षा बमको स्टाटस :
एकजना जेनजी मित्र, जो सेप्टेम्बर ८ (भदौ २३) को दिन आन्दोलनमै आएका थिएनन्, आज अन्तरिम सरकारलाई “कामचोर” घोषणा गरेर संसद पुनर्स्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन् ।
अर्का एक जेनजीका दाइ छन्, उनले पनि केही दिनअगाडि कान्तिपुर टीभीको फायरसाइडमा संसद पुनर्स्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए । अनि फेरि आफैँ ‘हामी तिमीहरूलाई आउन दिन्छौँ र ? हामीले हातमा चुरा लगाएका छैनौँ’ पनि भन्दै थिए ।
जेनजी मित्र र जेनजीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईंहरू दुवैले जुन संसद पुनर्स्थापना को कुरा गरिरहनुभएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ । अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसदमार्फत मुलुकलाई निकास दिँदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ । यतिखेर सबैभन्दा प्रमुख कुरा, हामीलाई “Political Process” को आवश्यकता छ । हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनैतिक/रणनैतिक गोटी बन्नुहुँदैन । हामी थप सचेत हुन जरूरी छ । देशमा शान्ति जरूरी छ ।
अनि जेनजीका दाई, मेरा यी चुरा लगाएका दुवै हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाइरहेकै छन् । चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भुल नगर्नुहोला । स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र याद गर्नुस्, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन् । भदौ २८,२०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईंले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो ।