काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल पनि आगामी चुनावमा होमिने तयारीमा देखिएको छ । सोहीकारण उक्त दलले निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन दिएको छ ।
मंगलबार विप्लवको नेतृत्वमा दलको नाम कम्युनिस्ट पार्टी नेपाल राखेर दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिइएको छ । नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढालगायले आयोगमा पुगेर दल दर्ताको लागि निवेदन दिएका हुन् ।
यही २१ फागुनमा प्रतिनिधिसभाको चुनाव गर्ने गरी मिति तोकिएको छ । जसका लागि ३० कात्तिकअगावै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा तोकिएको छ । उक्त पार्टीले सोहीअनुसार दर्ताको लागि आवेदन दिएको हो ।
विप्लवले दल दर्ताका लागि निवेदन दिएर चुनावमा होमिने तयारी गरेपछि माओवादी केन्द्रका नेता राजन दाहालले भने उनीमाथि ९ वटा गम्भीर प्रश्न उठाएका छन् ।
नेता दाहालले फेसबुकमार्फत उक्त प्रश्न उठाएका हुन् । यस्तो छ दाहालले उठाएका प्रश्नहरूः
१. अन्ततः यही बाटोमा आउनु थियो भने जन विश्वास आर्जन गरेको एकताबद्ध र मजबुत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ?
२. नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको ?
३. श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ?
४. अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?
५. आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत केन्द्रीय समिति सदस्यको निर्णय अस्वीकार गरी लेनिनवादी सङ्गठनात्मक पद्दतिलाई अस्वीकार गर्दा (नेकपा बहुमत) बनाउनु पर्ने बाध्यता किन सिर्जना गरेको ?
६. अत्यधिक केन्द्रीय सदस्य एकताको पक्षमा हुदाहुँदै एकता नगरी फेरि त्यही अवस्था सिर्जना गर्न खोजेको हो ?
७. वार्ता टोलीमा नाम र चुनाव चिह्नको बारेमा छलफल र निष्कर्षमा पुग्नै लाग्दा छलफलमा आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन किन दिएको ? नामको प्रस्तावक को हो, त्यो त अवगत नै होला ।
८. गएका १३ वर्षमा अध्यक्ष नै दिएर पुरस्कृत गर्नु पर्ने गरी के योगदान गरेको छ र अध्यक्ष मागेको ?
९. विचार मिल्नेसँग एकताको लागि वार्ता जारी रहँदारहँदै बिनाजानकारी ओलीजीसँग पनि एकताको लागि संवाद किन सुरू गरेको ?
लगायत दर्जनौँ यक्ष प्रश्नको जवाफ त दिनै पर्छ महोदय । इतिहास प्रति न्याय गर्न पनि आत्म समिक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नु पर्ला नि ।