काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय दातृ निकायका प्रमुखहरूसँग छलफल गरेको छ । मन्त्रालयमा आज उक्त बैठक सम्पन्न भएको हो ।
बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा विभिन्न देशका नेपाल स्थित राजदूतहरू, नेपाल स्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूका प्रमुख तथा प्रतिनिधिहरू, मिशनका प्रतिनिधिहरू र बहुपक्षीय तथा द्वीपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
बैठकमा अर्थमन्त्री रामेश्वर खनालले विकास साझेदारहरूले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएकोमा धन्यवाद दिए । उनले वर्तमान सरकारका तत्कालका प्राथमिकताहरूबारे बताएका थिए ।
साथै, नेपालमा हाल भएको परिवर्तनपछि बनेको अन्तरिम सरकार युवाहरूको चाहना अनुरुप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको बताए ।
आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितव्ययीताका माध्यमबाट पुनर्निमाण अघि बढाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने बताए ।
कार्यक्रममा विकास साझेदारहरूको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसीआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरू, भारत र नर्वेका प्रतिनिधिहरू, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाइ राखेका थिए ।
उनीहरूले नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रम प्रति सहमति जनाएका अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
विकास साझेदारहरूले चालु रहेका आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको बताएका थिए ।