यस्तो छ शर्माले केन्द्रीय समिति बैठकमा राखेको धारणाः
आज हाम्रो बैठक हालै जेनजी विद्रोहले पैदा गरेको विषम परिस्थितिमा बसिरहेको छ। जेनजी विद्रोहले उठाएका दुई प्रमुख एजेन्डाले सिङ्गो देश, समाज र विश्वको ध्यानाकर्षण गरेको छ । यस बैठकमा हामीले पनि ती मुख्य एजेन्डाभन्दा बाहिरका विषयमा मात्र छलफल गर्नुको कुनै अर्थ छैन ।
मैले जेनजी विद्रोहको कुरा र महाधिवेशनका लागि केही कुराहरू मात्रै राखेको छु, अरू समग्र परिपाटी छैन। म छोटोमा मात्रै राख्नेछु । यो मेरो तर्फबाट होइन, तपाईँहरूको तर्फबाट मैले यहाँ राख्दै आएको छु भन्ने कुरा पनि राख्न चाहन्छु ।
जेनजी विद्रोहबाट अझ मुखरित भएर उठेको पहिलो विषय भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारवादका कारण देश अघि बढ्न नसकेको निष्कर्ष हो भने दोस्रो विषय राजनीति दशकौँसम्म निश्चित व्यक्तिको हातमा राखिराख्दा उत्पन्न भएको सङ्कट अर्थात नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनको कुरा हो।
विगतदेखि नै पार्टीमा मैले एजेन्डाहरू प्रष्टसँग उठाउँदै आएको छु। व्यापक छलफल पनि भएको छ। तर ती छलफल र एजेन्डाहरूलाई गलत मनसायले ममाथि आरोपित गर्ने काम पनि हुँदै आएको छ। तर आज ती एजेन्डा र ती एजेन्डाहरूमा रहेका अन्तरवस्तुको औचित्य स्थापित भएको छ ।
आज यी दुई गम्भीर एजेन्डाहरूको यथोचित सम्बोधन हुन नसक्दा निम्तिएको जनधनको नोक्सानी, क्षति र विध्वंसको सामना गर्नुपर्ने स्थिति मात्र नभएर दशकौँको जनयुद्ध, महान जनयुद्धको सङ्घर्ष र बलिदानबाट निर्मित संविधान पनि मूर्छित भएको अवस्थामा छ ।
आन्दोलनकारी युवाहरूको आन्दोलनभित्र नाजायज घुसपैठ गरी राज्यका संवैधानिक अङ्गहरूमाथि विध्वंस मच्चाइएको छ। सार्वजनिक, व्यापारिक र निजी सम्पत्तिहरू ध्वंस पारिएको छ । देशको इतिहास र स्वाभिमानका तथ्य–तथ्याङ्कहरू नष्ट गर्ने कुत्सित मनसाय बोकेको झुन्डले स्रोतमा नै आगो लगाइ खरानी बनाएको छ। समग्र राज्यको मनोबल गिरेको छ भने अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालको छवि तथा विद्यमान राज्य संरचनाको अवस्था अत्यन्त कमजोर देखिएको छ ।
यतिबेला राष्ट्रियता सङ्कटमा छ। राष्ट्रको रक्षा, स्वाधीनता र अखण्डताको संरक्षण आजको प्राथमिकता हो। यसका लागि सिङ्गो देशभक्त नेपाली जनता, राजनीतिक दल तथा वर्तमान सरकार सबै एकताबद्ध भएर लाग्नुको विकल्प छैन ।
आजको यस जटिल सन्दर्भमा माथि उठाइएका भ्रष्टाचार, सत्तालिप्सा एवं पदलोलुपता र राष्ट्रियताको रक्षाका विषयलाई म स्पष्ट गर्न चाहन्छु। भ्रष्टाचारविरुद्धको सङ्घर्षमा नेतृत्व दिन सक्षम हुने हैसियत कायम गर्न सर्वप्रथम हाम्रो पार्टीले नेताहरूको सम्पत्ति छानबिन गर्ने स्वतन्त्र आयोग निर्माण गर्नुपर्छ ।
दोस्रो कुरा, हाम्रो पार्टीको महाधिवेशन घोषणा गर्दा अध्यक्ष कमरेड प्रचण्डसहित दशकौँदेखि एउटै पदमा रहेका हामी सबै पदाधिकारी सामूहिक राजीनामा दिऔँ र आगामी महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय यसै बैठकबाट गरौँ ।
पार्टीको सैद्धान्तिक, राजनीतिक एवं वैचारिक पृष्ठपोषण गर्न र नयाँ पुस्ताको नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धतासहित हालका अध्यक्ष तथा सबै पदाधिकारी निर्देशक कमिटीको रूपमा काम गर्ने गरी संयन्त्र निर्माण गरौँ। निर्देशक कमिटीले महाधिवेशनबाट निर्वाचित नयाँ पुस्ताको नेतृत्वलाई सघाउने प्रतिबद्धता जाहेर गरौँ। यस विकल्पले पुरानो नेतृत्वको योगदान, सम्मान र मूल्याङ्कन मात्र होइन, पार्टीको नवजीवनको सुनिश्चितता पनि सुनिश्चित गर्छ ।
विगतदेखि पार्टीमा स्वतन्त्र र निस्वार्थ भावले उठाएका एजेन्डाहरू र जेनजी आन्दोलनले उजागर गरेका प्रश्नहरूको यो एकसाथ जवाफ हुनेछ। यसबाट जनतामा सकारात्मक प्रभाव पर्दै दीर्घकालसम्म राष्ट्रिय समस्याहरू समाधान गर्ने मनोबल र पार्टी निर्माण हुनेछ ।
अन्यथा, महाधिवेशन विगतमा जस्तो विधान अधिवेशन जस्तै, ९० प्रतिशतको यो हलमा एउटा मत मात्र भएको र अध्यक्षले फरक घोषणा गरेको अवस्था दोहोरिने सम्भावना हुन्छ । महाधिवेशन यथास्थितिको रिन्यु होइन भन्ने कुरा सुनिश्चित गर्नैपर्छ ।
जहाँसम्म राष्ट्रियताको रक्षाको लागि जनताको समर्थनको कुरा छ, जनताको समर्थनको लागि जनताले सुन्ने गरी नयाँ अनुहारहरू अगाडि सार्न जरुरी छ। अहिलेकै नेतृत्वबाट गरिने अपिल जनताबाट सुनिने अवस्था छैन। त्यसैले आ–आफ्ना कमीकमजोरीको आत्मालोचना गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौँ र समग्र पुनर्गठनमा मद्दत पुर्याऔँ ।
यसको अर्थ अध्यक्ष प्रचण्डले गरेको योगदान र टिमको भूमिकालाई नजरअन्दाज गर्नु होइन। अध्यक्ष प्रचण्डले जनयुद्ध अगाडि गरेका साङ्गठनिक योगदान, जनयुद्धमा गरेको ऐतिहासिक नेतृत्व र जनयुद्धपछिको योगदानलाई उच्च सम्मान गरौँ ।
आज इतिहासले दिएको यही विकल्प हो। २१औँ शताब्दीमा युवा सहित सम्पूर्ण जनताको अपेक्षाअनुसार पार्टीलाई सुदृढ एवं एकताबद्ध गर्ने विधि यही हो। यो निर्णयले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न योगदान पुर्याउनेछ ।
जहाँसम्म विचारको कुरा छ, हामी विश्वस्त हुनुपर्छ, नयाँ पुस्ता हामीभन्दा पनि अध्ययनशील, श्रमशील र अग्रगामी छ। नयाँ पुस्ता विचारमा शून्य छ भन्नु मनोगत रोग हो र पुरानो पुस्ताको असक्षमता प्रस्तुत गर्नु मात्र हो ।
|