काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । बैठक आज बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको पुनर्संरचनाका विषय, जेनजी विद्रोहपछिको राजनीतिक अवस्था र भावि रणनीति समेटेर राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
उनले प्रस्ताव गरेपछि समूहगत छलफल हुनेछ । विशेष महाधिवेशन, आम निर्वाचन, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण र जनपरिचालनलगायतका विषयमा पनि पार्टीको केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
प्रचण्डले केन्द्रीय समिति विघटन गर्ने र आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गर्ने तयारी गरेका छन् । उनले यो प्रस्ताव पार्टीको पदाधिकारी बैठक र स्थायी समितिमा पनि गरिसकेका छन् । अब केन्द्रीय कमिटीले पारित गरेमा यो प्रस्ताव पारित हुनेछ ।
प्रचण्डले पार्टीभित्र युवाहरूलाई नेतृत्वमा ल्याउनका लागि विशेष प्रस्ताव गर्ने पनि स्रोतको भनाइ छ । पार्टीको पुनर्संरचना गरेर निर्वाचनमा जानका लागि विशेष महाधिवेशन गर्नुपर्ने माओवादीको तयारी छ ।
यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय समिति बैठकका एजेण्डा:
१. श्रद्धाञ्जली
२. अध्यक्ष प्रचण्डबाट राजनीतिक प्रस्ताव प्रस्तुति
३. प्रस्तावमाथि छलफल
४. विशेष महाधिवेशन सम्बन्धमा
५. फागुन २१ गतेको आम निर्वाचन सम्बन्धमा
६. पार्टी एकता तथा ध्रुवीकरण
७. राहत तथा पुनर्निर्माण
८. जनपरिचालन र जनसम्बन्ध
९. विविध