काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न स्थानीय तहहरूलाई एम्बुलेन्स वितरण गरेको छ । महानगरले देशका विभिन्न स्थानका गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको हो ।
महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले बताएका महानगरले जानकारी दिएको छ ।
महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स ग्रहण गर्न आज राष्ट्रिय सभागृहमा आएका उनीहरूले यस्तो बताएका महानगरले जानकारी दिएको छ ।
सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँले 'हाम्रा लागि यो ठूलो सहयोग हो' भनेका छन् ।
सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले 'यो जनता जनताबीचको मधुर सम्बन्ध विकासको नमूना हो' भनेका छन् ।
त्यस्तै बैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले भनिन्, 'एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउँछौँ । कार्यविधिले सबैको पहुँचमा समान अवसर दिनेछ ।'
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण सुरु गरेको जानकारी दिएको छ ।
यसअघि २०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी-क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको महानगरले जनाएको छ ।
महानगरका अनुसार बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रा.लि.सँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो ।
२०८१/८२ मा समेत ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र २०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेट शीर्षक नं. २५३१२ मा ८ करोड १० लाख रकम छुट्याइएको महानगरले जनाएको छ ।
महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको छ ।