गोरखा । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली सिरानचोक गाउँपालिका–खहरेमा पुगेको छ । अभियान टोलीलाई स्थानीयले स्वागत गरेका छन् ।
सिरानचोक गाउँपालिका–खहरेमा जनतासंग अन्तरक्रिया सम्पन्न भएको छ । नेताहरूको उपस्थितिमा गरिएको अन्तरक्रियामा स्थानीयका प्रश्नहरू सुनिसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलनले अझै सम्पूर्ण क्रान्ति जित्न बाँकी रहेको बताए ।
उनले भने, 'हामीले पूरै क्रान्ति जितेका होइनौँ । यदि हामीले सरकार एक्लै चलाएका भए अझ धेरै काम गर्न सकिन्थ्यो, तर हामीले सधैँ अरूसँग मिलेर सरकार सञ्चालन गरेका हौँ ।'
प्रचण्डले जनयुद्धको क्रममा गोर्खाले दिएको ठूलो साथ र योगदानलाई स्मरण गर्दै यस क्षेत्रको विकासका लागि विशेष प्राथमिकताका योजना अघि सारिएको जानकारी दिए । उनले मध्यपहाडी लोकमार्गले गोर्खाको जीवनस्तरमा देखिएको परिवर्तनलाई उदाहरणका रुपमा गरे ।
'पहिलो पटक प्रधानमन्त्री हुँदा पनि हाम्रो सरकार एकलौटी थिएन, तर पनि हामीले मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग र उत्तर–दक्षिण करिडोरको निर्माणलाई अगाडि बढाएका थियौँ,' प्रचण्डले भने ।
उनले स्थानीय नेताहरूलाई सरकार र पार्टीले गरेका उपलब्धिहरू जनतासामु पुर्याउने जिम्मेवारीमा ध्यान दिनुपर्नेमा जोड दिए । 'हामीले पहिलो, दोस्रो र तेस्रो पटक सरकारमा रहँदा गरेका काम स्थानीय नेताले जनतालाई भन्नैपर्छ,' प्रचण्डले भने ।
शुसासन र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक काम गर्दै गर्दा आफूलाई विचौलियाको सेटिङका कारण सरकारबाट हटाइएको अनुभव भएको प्रचण्डले बताए । 'हामीले राम्रो काम गर्दै गर्दा, सुशासन र सामाजिक न्यायलाई अघि बढाउँदै गर्दा बिचौलियाको सेटिङमा सरकारबाट हटाइयो,' प्रचण्डले भने ।