काठमाडौं । विश्वका दुई प्रमुख शक्ति राष्ट्र अमेरिका र रुसका राष्ट्रपतिहरूको बहुप्रतीक्षित वार्ता यही शुक्रबार हुँदै छ । डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिन आलास्कामा भेट्दा दुनियाँले यसलाई सतर्कतापूर्वक हेर्नेछ । कारण स्पष्ट छ- ट्रम्प र पुटिनले मुख्यतः युक्रेन युद्धको विषयमा महत्त्वपूर्ण निर्णय लिन सक्छन् ।
ट्रम्प र पुटिनबीचको वार्तामा मुख्य गरी युक्रेन युद्धको चर्चा हुनेछ भन्ने कुरा सार्वजनिक भइसकेको छ । यसका लागि ट्रम्प निकै उत्सुक देखिएका छन् ।
ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेपछि सुरुमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाबमा राख्न चाहेको देखिन्थ्यो । उनले ओभल अफिसमा जेलेन्स्कीलाई मिडियाकै अगाडि हप्कीदप्कीसमेत गरेका थिए ।
तर, पछि उनी युक्रेनप्रति नरम र रुसप्रति आक्रामक देखिए । पुटिनसँग उनको सम्बन्धमा चिसोपन बढ्दै जाँदा अमेरिकाले रुसलाई लक्षित गरी दुईवटा सबमरिन परिचालन गरेको समाचार बाहिरियो । अनि सुरुमा युक्रेनलाई जुन हतियार दिन ट्रम्पले अनिच्छा देखाएका थिए पछि त्यसका लागि पनि तयार भएका थिए ।
सारमा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकाल चलाइरहेका ट्रम्पमा रुस युक्रेन युद्धलाई लिएर उतारचढावपूर्ण नीति लिएका देखिन्छ । यसप्रति युरोपले पनि निकै सतर्कतापूर्वक हेरेको देखिन्छ । सोही कारण ट्रम्पको खप्की खाएर युरोप पुगेका जेलेन्स्कीलाई युरोपेली नेताहरूले न्यानो स्वागत गरेका थिए ।
तर, ट्रम्प र पुटिनबीच यही शुक्रबार अर्थात् १५ अगस्टमा आलास्कामा हुने वार्ताले कस्तो मोड लिनेछ भन्नेमा युरोप निकै सशंकित देखिएको छ । युरोपेली नेताहरूले एउटा पक्ष युक्रेनको उपस्थितिबिना यसबारे निर्णय लिइन खोजिएको भन्दै असन्तुष्टि जनाइसकेको छ ।
त्यस्तै जेलेन्स्कीले भने युक्रेनको सहभागिताबिना हुने सहमति मान्य नहुने अडान लिएका छन् । एउटा प्रमुख पक्षको सहभागिताबिना हुने कुनै पनि सहमतिले स्थायी शान्ति स्थापना गर्न नसक्ने जेलेन्स्कीले बताउँदै आएका छन् ।
उता, ट्रम्पले भने यो वार्तालाई लिएर टिप्पणी गरिरहेका छन् । उनले यो वार्तापछि रुस युद्ध समाप्त गर्न सहमत नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस ब्रिफिङका क्रममा ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
अर्कातर्फ कूटनीतिका निकै चतुर खेलाडी पुटिन भने प्रतिक्रियात्मक देखिएका छैनन् । खासगरी वार्ताका टेबुलहरूमा निकै प्रभावशाली रूपमा प्रस्तुत हुने नेताको रूपमा पुटिनको विश्लेषण हुने गरेको छ । अनि उनले रुसमा लामो समयदेखि शासनको बागडोर चलाउँदै आएका छन् ।
जसका कारण पनि रुसको पल्ला भारी हुन सक्ने संशय कतिपयले गरेका छन् । साथै धेरैको चासोको विषय दुईवटा विषयमा केन्द्रित रहेको देखिएको छ । पहिलो हो- यो वार्ताले समाधान निकालेमा अथवा दुई राष्ट्रपतिबीच सहमति भएमा कुन विन्दुमा सहमति हुनेछ अनि त्यसमा युरोप र युक्रेनले कस्तो प्रतिक्रिया दिन्छ ? अनि दोस्रो हो- सहमति भएन भने यो विषय कसरी अघि बढ्छ ? थप विषय त वार्तासँगै खुल्दै जानेछन् ।