काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस प्रकरणमा आफ्नो नाम जोडिएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन् ।
केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच घुस बार्गेनिङ भएको भनिएको अडिओ सार्वजनिक भएको थियो ।
उक्त अडियो सार्वजनिक भएसँगै मन्त्री गुप्तालाई पदबाट बर्खास्त गर्नुपर्ने दबाब प्रधानमन्त्री ओलीमाथि परेको थियो । सोही प्रकरणमा गुप्ताले आज फेसबुकमार्फत आफूले राजीनामा दिएको जानकारी दिएका हुन् ।
उनले आफूलाई नखाएको विष लागेको पनि दाबी गरेका छन् । ‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ विदितै छ,’ गुप्ताले फेसबुकमा लेखेका छन्, ‘कहीले काहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ ।‘
आफूमाथि लागेको आरोपको बारेमा सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर राजीनामा दिएको उनको भनाइ छ । ‘अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा गरेको छु,‘ उनले भनेका छन् ।
गुप्ताले आफू प्रविधिको उच्चतम शिकार भएको संकेत गरेका छन् । ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्मा विभिन्न रूपले आफूलाई सहयोग गर्नुहुने हरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
हेर्नुस् गुप्ताले फेसबुकमा के लेखेका छन् ?
बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ ।
कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।
अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।
|