काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा निर्यातमा ७७.८ प्रतिशतले वृद्धि भएको छ । कुल वस्तु निर्यात २ खर्ब ४७ अर्ब ५७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३ प्रतिशतले घटेकोमा यस वर्ष उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकले जनाएको छ ।
भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटोलगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै पाम तेल, जिङ्ग सिट, जुस, तयारी पोसाक, अलैँचीलगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तो समीक्षा अवधिमा वस्तु आयात १३.१ प्रतिशतले बढेर १६ खर्ब ४४ अर्ब ४० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.८ प्रतिशतले कमी आएको थियो ।
पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइलालगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारिसाधन तथा स्पेयर पार्ट्स, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको राष्ट्र बैंकले जनाएको छ ।