काठमाडौं । निजामती सेवा सम्बन्धी विधेयकमा सर्वाधिक चासो र चर्चामा रहेको विषय थियो कुलिङ पिरियड । कुलिङ पिरियडले सेवाबाट अवकास पाउनासाथ कर्मचारीहरूलाई तत्काल अर्को नियुक्तिका लागि रोक्थ्यो ।
विगतमा पदबाट अवकास पाएको भोलिपल्टै संवैधानिक निकायहरूमा ‘पूर्वकर्मचारी’ नियुक्त भए । यसो हुँदा विकृति भित्रिएको भन्दै अवकास पाउनासाथ या राजीनामा दिनासाथ नियुक्तिका लागि रोक्न कुलिङ पिरियड राख्ने भनियो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयकको दफावार छलफल भयो । त्यहाँ पनि यो विधेयकमा रहेकोमध्ये सर्वाधिक चासोको विषय त्यही कुलिङ पिरियड थियो । अन्तमा दल र सांसदहरू २ वर्ष कुलिङ पिरियड राख्न सहमति भयो ।
राज्य व्यवस्था समितिमा त्यहीअनुसार विधेयकलाई अन्तिम रूप दिइयो । उक्त व्यवस्थासहितको विधेयक प्रतिनिधिसभामा पेस हुँदै पारित पनि भयो । तर, विधेयक पारित भइसकेपछि उक्त कुलिङ पिरियडमा छेडखानी भएको रहस्य खुल्यो ।
विधेयकमा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन’ शब्द रहेको रहस्य खुल्यो । यसले कुलिङ पिरियडको औचित्यमाथि नै प्रश्न उठायो ।
समितिमा गरमागरम भएको विधेयकमा यस्तो व्यवस्था परेपछि समितिमाथि पनि प्रश्न उठ्ने नै भयो ।
समितिका सदस्य (सांसद) हरू आफूहरूले विधेयकको अन्तिम मस्यौदा हेर्न नपाएको गुनासो गर्छन् । त्यसो भएकाले यस्तो कार्यले सार्वभौम संसदकै घोर अपमान भएकाले यस्तो कार्य गर्नेहरूमाथि कारबाही गर्नुपर्ने माग उनिहरूको छ ।
यस्तो विधेयकपास भएपछि मंगलबार राज्य व्यवस्था समितिका सदस्य सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर यसलाई सच्याउनुपर्ने बताएका छन् । उता सभामुखले पनि विधेयकमा त्यस्तो शब्द कसरी प्रवेश गराइयो भनेर समितिका सभापति रामहरि खतिवडालाई सोधेका थिए ।
जवाफमा खतिवडाले आफू पनि कुलिङ पिरियडको पक्षमा रहेको भन्दै त्यस्तो व्यवस्था कसरी पर्यो भन्ने विषयको जानकारी नपाएको बताए । उनले यस विषयमा छानबिन हुनुपर्ने भन्दै त्यसका लागि आफू पनि तयार रहेको बताए ।
उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, नेकपा एमालेका सांसद सूर्य थापा लगायतले विधेयकमाथि छेडखानी हुनु गम्भीर विषय भएको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।