काठमाडौं । क्रिकेटको अन्तर्राष्ट्रिय नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी- २० क्रिकेटको केही नियममा महत्त्वपूर्ण परिवर्तन गरेको छ ।
खासमा टी-२० अन्तर्राष्ट्रियमा ६ ओभरको पावरप्ले हुने गर्दछ । आईसीसीले यो नियमलाई यथावत राखेको छ । तर, कुनै परिस्थितिमा टी-२० आईको ओभर घटाउनुपरे त्यसमा कायम हुने पावरप्लेको विषयमा भने आईसीसीले नयाँ मापदण्ड बनाएको छ ।
आईसीसीका अनुसार अब टी- २० क्रिकेटमा ओभर कम हुँदै जाँदा पूरा ओभरका आधारमा मात्र नभएर बलका आधारमा पावरप्ले निर्धारण हुने भएको छ ।
त्यसो भए पावरप्लेको निर्धारण कसरी गरिन्छ त ? कति ओभर या बलको पावरप्ले बनाइने छ त ? त्यसबारे आईसीसीले बनाएको नयाँ मापदण्ड यस्तो छ ।
यसअघि सामान्य अवस्थामा टी- २० अन्तर्राष्ट्रियमा ६ ओभरको पावरप्ले हुने गर्दथ्यो । तर, विशेष परिस्थितिले २० ओभरको खेलमा ओभर कम हुँदै जाँदा ओभरकै आधारमा पावरप्ले तय हुने गर्दथ्यो । अब भने बलका आधारमा पावरप्ले निर्धारण हुने भएको हो ।
पावरप्लेको समयमा ३० यार्डको सर्कलबाहिर केवल दुई जना मात्र फिल्डर राख्ने अनुमति हुन्छ । त्यसैले यो समयमा ब्याटिङ गरिरहेको टिमले रन बनाउने मौका पाउँछ भने फिल्डिङ गरिरहेको टोलीलाई रन रोक्ने चुनौती हुन्छ । त्यसैले क्रिकेटमा पावरप्लेलाई महत्त्वका साथ हेरिन्छ ।
आईसीसीको नयाँ नियमअनुसार अब कुनै पनि खेल केवल ५ ओभरमा सीमित रहन्छ भने त्यसको पावरप्ले १.३ ओभरको हुनेछ ।
त्यस्तै ६ ओभरको खेलमा १.५ ओभरको, ७ ओभरको खेलमा २.१ ओभरको र ८ ओभरको खेल हुँदा २.२ ओभरको पावरप्ले हुनेछ । त्यस्तै ९ ओभरको खेल हुँदा २.४ ओभरको पावरप्ले हुनेछ भने १० ओभरको खेलमा ३ ओभरको पावरप्ले हुनेछ ।
यसै गरी ११ ओभरमा ३.२, १२ ओभरमा ३.४, १३ ओभरमा ३.५, १४ ओभरमा ४.१ को, १५ ओभरमा ४.३ ओभरको पावरप्ले हुनेछ । त्यस्तै १६ ओभरको खेल भएमा ४.५, १७ ओभरकोमा ५.१, १८ ओभरकोमा ५.२ र १९ ओभरको खेलमा ५.४ ओभरको पावरप्ले हुनेछ ।