काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर असहमति जनाएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले गृहमन्त्रीमाथि लागेको आरोपको अनुसन्धानका लागि पूर्वमुख्यसचिवको नेतृत्वमा समिति बनाएको भन्दै आपत्ति जनाए । सरकारले यस्तै काम गर्ला भन्ने पूर्वाभास भएर आफूहरूले विरोध जनाएको उनले बताए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भिजिट भिसा प्रकरणको छानबिनका लागि छानबिन समिति बनाएको थियो । उता माओवादीले भने वैरागीको नेतृत्वमा छानबिन समिति बनाइएको भन्दै सन्तुष्टि जनाएको छ ।
‘क्याबिनेट चल्दाचल्दै हाम्रा पार्टीका प्रवक्ताले एउटा ट्विट गर्नुभएको थियो, शंकरदास किन ? तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्किने यो सुनपानी छर्किने समिति बनाए भैहाल्यो नि,’ वाग्लेले भने ।
वैरागी सत्ताको प्रिय पात्र भएकाले उनको नेतृत्वको छानबिन समितिले सत्तामा रहेकाहरूमाथि छनबिन हुन नसक्ने वाग्लेको भनाइ थियो । ‘विगत १० वर्षदेखि उहाँ सत्ताको प्रीय पात्र हुनुहुन्छ । ७ वर्ष परराष्ट्रसचिव बन्नुभयो । ३ वर्ष मुख्यसचिव बन्नुभयो । र रहस्यमय ढंगले मुख्यसचिवबाट उहाँको बहिर्गमन हुन्छ । राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ,' उनले भने ।
वाग्लेले गृहमन्त्रीको परोक्ष संलग्नता देखिइसकेको भन्दै यसको छानबिन न्यायिक समितिमार्फत हुनुपर्ने बताए । ‘परोक्ष संलग्नता देखिसक्या छ, प्रत्यक्ष संरक्षण देखिसक्या छ,’ वाग्लेले भने, ‘गृहमन्त्रीले मेरै प्रस्तावमा छानबिन समिति बन्यो भन्नुभयो । के आरोपीले नै अनुसन्धान अधिकृत छान्दै जाने हो अहिले ?’