काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प अर्गनाइजेसनले स्मार्ट फोन (मोबाइल फोन) लन्च गरेको छ । ट्रम्प अर्गनाइजेसनले सोमबार उक्त स्मार्ट फोन लन्च गरेको हो ।
ट्रम्प अर्गनाइजेसनले सोमबार (जुन १६) मा ट्रम्प मोबाइल नामबाट एउटा नयाँ स्मार्टफोन ब्रान्ड र नेटवर्क सेवा सुरु गरेको हो । रोयटर्सको रिपोर्टअनुसार, स्मार्टफोनको बिक्री र मोबाइल नेटवर्क सेवा सेप्टेम्बर २०२५ बाट सुरु हुनेछ ।
अर्गनाइजेसनले टी१ (T1) नामको एउटा फाइभजी स्मार्टफोन पनि ल्याएको छ, जसको मूल्य ४९९ अमेरिकी डलर राखिएको थियो । यो पूर्ण रूपमा 'मेड इन अमेरिका' फोन हुनेछ । यसलाई आधिकारिक वेबसाइटबाट १०० डलरमा बुक गर्न सकिने उल्लेख छ ।
यसका साथै ट्रम्प अर्गनाइजेसनले 'द ४७ प्लान' नामको मासिक सदस्यता योजना पनि ल्याएको छ । जसको मूल्य ४७.४५ अमेरिकी डलर राखिएको छ । जसबाट १०० देशमा अनलिमिटेड कलिङ गर्न सकिने जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले हालै एप्पललाई आईफोन भारत वा बाहिर बनाइएमा २५ प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका थिए । यस्तो अवस्थामा ट्रम्पको कम्पनीले मोबाइल लन्च गर्नुलाई एप्पललाई चुनौती थपिएका रूपमा पनि केहीले विश्लेषण गरेका छन् ।

के छ विशेषता ?
ट्रम्पको कम्पनीले बनाएको यो टी१ ५जी समार्टफोनमा ६.७८ इन्चको एमोलेड डिस्प्ले रहेको छ । त्यस्तै ५० मेगापिक्सेको मेन क्यामेरा छ भने २ मेगापिक्सेलको डेप्थ सेन्सर क्यामेरा र २ माइक्रो लेन्स रहेको छ ।
एन्ड्रोइड १५ ओएस प्रोसेसरयुक्त यो फोनमा १५ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुनेछ ।
कम्पनीले ५ हजार एमएएच क्षमताको ब्याट्री र १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज क्षमता उपलब्ध गराउनेछ । फिङ्गरप्रिन्ट सेन्सरयुक्कत इन स्क्रिन फेस रहेको यो स्मार्टफोनमा १२० एचजेडको रिफ्रेस रेट उपलब्ध हुनेछ ।