काठमाडौं । हाम्रो जीवन सधैँभर सरल र सिधा गतिमा अघि बढ्न सहज छैन । जीवनमा उतारचढावहरू आउँछन् । हार हुन्छ, जीत हुन्छ । सफलता पाउँछौँ, असफलता पाउँछौँ । त्यसैले जीवनमा सधैँ एउटै गतिमा अघि बढ्छु भनेर सम्भव हुँदैन ।
तर, जीवनमा आउने उतारचढावहरूका बीच पनि आफूलाई कसरी सन्तुलित राख्ने ? यो निकै महत्त्वपूर्ण विषय हो । हामी देखिरहेका हुन्छौँ कोही व्यक्तिहरू विभिन्न तनावका बीच पनि विचलित देखिँदैनन् । र, तनावका बीच पनि जसले विचलित नभएर निर्णय लिन सक्ने क्षमताकव विकास गर्छ वास्तवमा त्यस्तो व्यक्तिले सफलता पाउने सम्भावना ठूलो रहन्छ ।
तनावको अवस्थामा मानिसहरू विचलित हुन्छ । जसका कारण त्यस्तो समयमा उनीहरूले लिने निर्णय सही नहुन पनि सक्छ । त्यसैले तनावपूर्ण जीवनलाई सन्तुलित र तनावमुक्त बनाउनका लागि असल बानी आवश्यक हुन्छ । हेर्दा र देख्दा सामान्य लाग्ने असल बानीले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याएको हुन्छ । आज त्यस्तै एउटा असल बानीको चर्चा गरिएको छ ।
धन्यवाद भन्ने बानी
हाम्रो जीवनमा हरेक दिन केही न केही राम्रो अवश्य हुन्छ, तर अक्सर हामी यी स-साना कुराहरूलाई बेवास्ता गर्छौं । हामी ती मानिसहरू र घटनाहरूलाई बिर्सन्छौँ, जसले हाम्रो दिनलाई अझ राम्रो बनायो ।
हामीले हरेक स-साना कुराका लागि धन्यवाद भन्नुपर्छ । यदि दिनभरको कामको व्यस्तताका कारण यसो गर्न बिर्सनुभयो भने पनि केही छैन, एउटा डायरी र कलम उठाउनुहोस् । राति सुत्नुअघि यी सबै राम्रा पलहरू सम्झेर धन्यवाद लेख्नुहोस् ।
यसलाई ग्र्याटिच्युड जर्नलिङ भनिन्छ । यसले केही दिनमै तपाईंको संसारलाई हेर्ने दृष्टिकोण बदलिनेछ र तमाम बिग्रिएका कुराहरू पनि राम्रो हुन थाल्नेछन् ।
ग्र्याटिच्युड जर्नल के हो ?
ग्र्याटिच्युड जर्नलको अर्थ हो- हरेक दिन आफ्ना दिनभरका राम्रा अनुभवहरूलाई सम्झेर तिनीहरूका लागि आभार व्यक्त गर्नु । यो बानीले जीवनमा सकारात्मकता बढ्छ र मानसिक शान्ति मिल्छ ।
हामी सबै जीवनमा सफलता, पैसा र नाम कमाउनका लागि दौडिरहन्छौँ । जो मानिसहरू उचाइमा पुगेका छन्, तीमध्ये धेरैजसोमा एउटा साझा बानी हुन्छ- हरेक कुराका लागि आभार व्यक्त गर्नु ।
पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरूमा आभार प्रकट गर्नुलाई एउटा महत्त्वपूर्ण गुण भनिएको छ । भगवद्गीतामा पनि यो सन्देश दिइएको छ कि हामीले हरेक परिस्थितिमा ईश्वर अर्थात् प्रकृतिप्रति कृतज्ञ हुनुपर्छ ।
बौद्ध धर्ममा पनि सबैलाई 'धन्यवाद' भन्न र हरेक परिस्थितिमा सन्तोषको भाव राख्नमा जोड दिइएको छ ।
ग्र्याटिच्युडबाट खुसी मिल्छ
विज्ञानले पनि आभार प्रकट गर्दा व्यक्तिको मानसिक स्थितिमा सकारात्मक प्रभाव पार्ने देखाएको छ । नियमित रूपमा ग्र्याटिच्युड जर्नल लेख्नेहरू अरूको तुलनामा बढी खुसी र सन्तुष्ट हुने देखाएको छ ।
उनीहरूमा निराशा र चिन्ताको भाव पनि कम हुने पनि देखिएको छ ।
ग्र्याटिच्युड जर्नल लेख्दा हुने फाइदाहरू
ग्र्याटिच्युड जर्नल लेख्ने सबैभन्दा ठूलो फाइदा यो हो कि हामी आफ्नो वरिपरि भइरहेका सबै कुराहरूप्रति आभारी हुन्छौँ । सबै मानिसहरूप्रति आभार व्यक्त गर्छौँ । यसले ती सबै मानिसहरूलाई पनि खुसी मिल्छ र सबैभित्र धेरै परिवर्तनहरू हुन्छन् ।
सकारात्मकता बढ्छः जब हामी दिनभरका राम्रा कुराहरूमा ध्यान केन्द्रित गर्छौँ, तब हाम्रो सोच सकारात्मक हुन्छ ।
तनाव र चिन्तामा कमी आउँछः आभार प्रकट गर्दा तनाव हर्मोन 'कोर्टिसोल' को स्तर कम हुन्छ ।
निद्राको गुणस्तरमा सुधार हुन्छः सुत्नुअघि राम्रा कुराहरू लेख्दा मन शान्त रहन्छ र राम्रो निद्रा आउँछ ।
सम्बन्धहरू मजबुत हुन्छः हामी अरूको भलाइलाई याद गर्छौँ र उनीहरूप्रति आभार व्यक्त गर्छौँ, तब हाम्रो सम्बन्ध बलियो हुन्छ ।
आत्मविश्वास बढ्छः जब हामी आफ्ना उपलब्धिहरू र खुसीहरूलाई चिन्छौँ, तब हाम्रो आत्मविश्वास बढ्छ ।
ग्र्याटिच्युड जर्नल कसरी सुरु गर्ने ?
यसका लागि कुनै योजना बनाउनुपर्दैन । तपाईंसँग कुनै खाली नोटबुक वा डायरी छ भने कलम उठाउनुहोस् र सुरु गर्नुहोस् । यदि पहिलो दिन तपाईंसँग यी चीजहरू छैनन् भने मोबाइल फोनमा नै टाइप गर्नुहोस् ।
एउटा डायरी वा नोटबुक लिनुहोस्: हरेक दिन बानी बसाल्नका लागि एउटा डायरी वा नोटबुक लिनुहोस् । यसमा हरेक दिनको मिति लेखेर त्यस दिनको जर्नल लेख्नुहोस् । यदि तपाईंसँग धेरै पैसा छैन भने रफ पेज भएको कपी पनि चल्छ ।
हरेक दिन केही मिनेट समय निकाल्नुहोस्: दिन पूरा भएपछि कुनै एक निश्चित समयमा नियमित रूपमा यसलाई लेख्नुहोस् । सुत्नुअघि वा खाना खानुअघि लेख्ने नियम बनाउन सक्नुहुन्छ ।
कम्तीमा तीन चीजहरू लेख्नुहोस्: दिनभरका कम्तीमा तीन राम्रा कुराहरू लेख्नुहोस् । ती सबै कुराहरू जसका लागि तपाईं आभार व्यक्त गर्न चाहनुहुन्छ । यसमा सामान्य घटना पनि हुन सक्छ, जस्तै कसैले गाडी पार्क गर्नमा तपाईंलाई मद्दत गर्यो ।
विशेष कुरा लेख्नुहोस्: आभार यसरी लेख्नुको सट्टा कि- 'म आफ्नो परिवारका लागि आभारी छु ।' यसलाई यसरी लेख्नुहोस्- 'आज मेरी आमाले मेरो मनपर्ने तरकारी बनाउनुभयो, जुन खाएर आनन्द आयो । आमालाई धन्यवाद ।'
हरेक दिन अभ्यासमा ल्याउनुहोस्: कहिलेकाहीँ केही दिन यस्ता पनि हुन्छन् कि लाग्छ, यो नराम्रो दिन थियो । यसका बावजुद यस्तो सोच्ने प्रयास गर्नुहोस् कि यदि यस्तो नभएको भए स्थिति अझ नराम्रो हुन सक्थ्यो । कृतज्ञताको कारण खोज्नुहोस् र हरेक दिन लेख्नुहोस् ।
ग्र्याटिच्युड जर्नलबाट परिवर्तनः
यो बानीले बिस्तारै हाम्रो सोच बदलिन्छ । जब हामी हरेक दिन राम्रा अनुभवहरू लेख्छौँ, तब हामी आफ्नो जीवनमा भएका राम्रा कुराहरूमा अझ बढी ध्यान दिन थाल्छौँ । यसले हामीलाई महसुस हुन्छ कि हाम्रो जिन्दगी कति सुन्दर छ र हामी कति भाग्यशाली छौँ ।
दृष्टिकोण बदलिन्छ
यो सानो बानीले मानसिक शान्ति, खुसी र सकारात्मकता बढाउँछ। हरेक दिन केही मिनेट निकालेर यो बानी अपनाउँदा हाम्रो दृष्टिकोण मात्र बदलिने छैन, तर तपाईंले पहिलेभन्दा बढी खुसी रहन थाल्नुभएको महसुस गर्नुहुनेछ । आजैदेखि यो सुन्दर बानीको सुरुवात गर्नुहोस् र आफूमा परिवर्तन महसुस गर्नुहोस् ।
नोटः यी र यस्तै जीवनका लागि महत्त्वपूर्ण विषयमा केन्द्रित रहेको असल बानी शृङ्खलाका अन्य सामग्रीहरू पढ्न यहाँ क्लिक गर्नुहोस् ।