काठमाडौं । के तपाईंले राति सुत्नुअघि आफ्नो कोठा व्यवस्थित गर्ने गर्नुभएको छ ? यसले तपाईंको जीवनमा कस्तो परिवर्तन ल्याउँछ ? यसको जानकारी तपाईंलाई छ ?
हामीले जीवनमा कतिपय यस्ता कर्महरू गरिरहेका हुन्छौँ जसले पार्ने प्रभावहरूको जानकारी हामीलाई नहुन पनि सक्छ । तर हामी त्यस्ता कर्महरूलाई दोहोर्याउँछौँ ।
आज हामी तपाईंलाई राति सुत्नुअघि घर व्यवस्थित बनाउने बानीले तपाईंको जीवनमा के परिवर्तन ल्याउँछ भन्ने विषयमा चर्चा गर्दछौँ । राति सुत्नुअघि घर या कोठा व्यवस्थित बनाउने बानी हेर्दा सामान्य लागे पनि यसले जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्छ ।
हरेक रात सुत्नुअघि घरको सबै सामानलाई आ-आफ्नो निश्चित ठाउँमा मिलाएर राख्नुस् । हरेक रात सुत्नुअघि आफ्नो कोठा या घरलाई व्यवस्थित छ कि छैन हेरेर मात्र सुत्ने गर्नुहोस् ।
राति सुत्नुअघि घर या कोठा व्यवस्थित गर्न तपाईंलाई कति समय लाग्छ ? हुन सक्छ त्यसका लागि केही मिनेट लाग्छ । तर, त्यसले तपाईंलाई बिहान उठेर घर या कोठा मिलाउनुपर्ने समस्याबाट मुक्ति दिन्छ ।
राति सुत्नुअघि घर या कोठा व्यवस्थित गर्नु किन जरुरी छ ?
यो सबैले जानेकै कुरा हो- हाम्रो वरपरको वातावरणले हाम्रो मानसिक स्वास्थ्यलाई प्रभावित बनाउँछ । यदि बिहान उठ्दा आफ्नो कोठा या घर असरल्ल अवस्थामा देख्दा तपाईंको मानसिक अवस्था कस्तो हुन्छ ?
अनी, बिहान उठ्दा आफ्नो घर या कोठा सुव्यवस्थित र सबै मिलेको देख्दा तपाईंको मानसिक अवस्थामा कस्तो असर पर्छ ?
भनिन्छ- बिहानीले दिनको संकेत गर्दछ । त्यसैले दिनलाई रमाइलो र उमंगपूर्वक बिताउनका लागि आफ्नो बिहानी पनि त राम्रो बनाउनुपर्यो नि होइन र ? मिलेको कोठा र घर बिहान उठेर हेर्दा त्यसले बेग्लै मानसिक शान्ति र सन्तुष्टि दिन्छ ।
रातमा घर या कोठा मिलाउने बानीले हामीमा अनुशासनको विकास गर्दछ । यसले मानसिक शान्ति दिन्छ । आत्मविश्वास बढाउँछ । काम गर्ने क्षमता र बानीको विकास गर्दछ । लगनशील बनाउँछ । यी बानीहरू तपाईंलाई सफल बनाउन निकै सहयोगी हुन्छन् ।
राति सुत्नुअघि घर या कोठा व्यवस्थित गर्नुका फाइदा के-के छन् ?
- तपाईंको बिहान ऊर्जावान र आत्मसन्तुष्टिपूर्ण हुन सक्छ ।
- तपाईंको दिनको सुरुवात सकारात्मक हुन्छ
- समयको बचत हुन्छ
- काममा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ
- तनाव र अलमल कम हुन्छ
- लगनशीलताको विकास हुन्छ
- तपाईंमा अनुशासनको विकास हुन्छ ।
- काम गर्ने बानी र क्षमताको विकास गराउँछ ।
- तपाईंलाई मेहनती बन्न सिकाउँछ ।
राति सुत्नुअघि घर या कोठा मिलाउने सजिलो तरिकाः
- एक नियमित रुटिन बनाउनुहोस् ।
- हरेक सामानलाई निश्चित स्थानमा राख्ने बानीको विकास गर्नुस् ।
- परिवारसँग पनि यो रुटिन शेयर गर्नुस् ।
- सबै सदस्यलाई यो रुटिनअनुसार गर्न अनुरोध गर्नुस् ।
- साथी या बालबालिकालाई पनि यसमा सहभागी गराउनुस् ।
- मोबाइल, ल्यापटप तथा चार्जरजस्ता बस्तुहरू सही स्थानमा राख्नुस् ।
- भोलिपल्टका लागि आवश्यक वस्तुहरूलाई निश्चित स्थानमा राख्नुस् ।
- भान्साघर सफा राख्नुस् ।
- जुठा भाँडाहरू सोही दिन सफा गर्नुहोस् ।
- लिभिङ रुम र बेडरुम मिलाउनुस् ।
- किताब, कलम, कागज र महत्त्वपूर्ण कागजातहरूलाई निश्चित स्थानमा राख्नुहोस् ।
वैज्ञानिकहरूले पनि व्यवस्थित र शान्त वातावरणले मानसिक स्वास्थ्यवलाई सकारात्मक फाइदा पुर्याउने देखाउँछ । त्यसैले यो बानी खाली तपाईंको दिनचर्यामा मात्र नभएर जीवनमै सकारात्मक परिवर्तन ल्याउन सहयोगी बन्न सक्छ ।
व्यवस्थित र शान्त वातावरणले निर्णय क्षमता बढाउन सघाउँछ । तनाव घटाउँछ । ध्यान केन्द्रित गर्न सजिलो बनाउँछ । त्यसैले राति सुत्नुअघि घर तथा कोठा मिलाउने बानीको विकास गरौँ ।