काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मिश्रासमेत १४ जनालाई प्रतिवादी बनाएर अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध स्वास्थ्य सेवा विभागको Mammography Machine खरिदका क्रममा लागत अनुमान तयार गर्दा देखि नै मिलेमतो गरेको अभियोग अख्तियारले लगाएको छ ।
लागत अनुमान तयार गर्दादेखि नै ठेकेदार कम्पनीलाई सम्झौताको सर्त बमोजिमको सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत Post Shipment Inspection(PDI) Report, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको ठहर अख्तियार गरेको छ । सोही विषयमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
'स्वास्थ्य सेवा विभागले आ.व. २०८०।०८१ मा खरिद गरेको म्यामोग्राफी मेसिनको खरिद प्रकृयामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान,' गरिएको अख्तियारले जनाएको छ ।
'स्वास्थ्य सेवा विभागको ठेक्का नं. RFB No. DOHS/G/NCB-18/IDA/2080-81, Procurement Of Mammography Machine को खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ लगायतका प्रचलित कानुनको प्रतिकुल हुने गरी उक्त खरिद कार्यको लागि Mammography Machine, Accessories, Training लगायतका १२ बुदाँ उल्लेख गरी Technical Specification तयार गरेको,' अख्तियारले जनाएको छ ।
'बदनियत राखी लागत अनुमान तयार गर्न गराउन भनी ठेक्का प्राप्त गरेका कम्पनीका संचालक सुन्दर भुसाल संस्थापक संचालक भएको म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रा.लि., शुभ बायो मेडिकल कन्सर्न प्रा.लि. र भाइव बायोमेडिकल कन्सर्न प्रा.लि.समेत सँग दररेट माग गरे गराएकोमा उक्त कम्पनीहरूले प्राविधिक स्पेसिफिकेशन बमोजिमको Mammography Machine, Accessories, Training लगायतका १२ वटा बुदाँमा शीर्षकगत Break Down किटान भए बमोजिम शीर्षकगत छुट्टाछुट्टै दररेट पेश नगरी नगराई बदनियत राखि एकमुष्ट दररेट उक्त कम्पनीहरुवाट प्राप्त गरी गराई शुभ बायो मेडिकल कन्सर्न प्रा.ली ले पेश गराएको,' अख्तियारले जनाएको छ ।