काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पुनः भेटवार्ता हुने भएको छ । यी दुई शक्ति राष्ट्रका प्रमुखहरूबीच आगामी भेटवार्ता हंगेरीमा हुने तय भएको छ ।
बीबीसीका अनुसार हंगेरीमा यी दुई नेताबीच भेटवार्ता हुने निश्चित भए पनि भेटघाटको मिति भने तय भइसकेको छैन ।
बीबीसीका अनुसार पुटिनलाई हंगेरी पुग्न सहज भने छैन । यदि पुटिन आगामी दुई हप्ताभित्र हंगेरी जान्छन् भने, उनले केही अवरोधहरू पार गर्नुपर्नेछ । हंगेरी र यसका धेरैजसो छिमेकी राष्ट्रहरू नेटोका सदस्य पनि हुन् ।
यसै वर्ष अगस्ट महिनामा पुटिन अलास्का जाँदा, अमेरिकाले उनको विमानको उडानका लागि विशेष अनुमति दिएको थियो ।
बीबीसीका अनुसार रूसी राष्ट्रपतिले प्रयोग गर्ने विमानलाई "फ्लाइङ्ग क्रेमलिन" भनिन्छ । यो एक परिमार्जित इल्युशिन आईएल-९६ विमान हो । यसमा चार इन्जिन छन् र यो विमान रक्षा प्रणालीले सुसज्जित छ ।
अमेरिका र युरोपले आफ्नो हवाई क्षेत्रमा रूसी विमानहरूको उडानमा प्रतिबन्ध लगाएका छन् । त्यसैले यदि पुटिन बुडापेस्ट (हंगेरीको राजधानी) जान्छन् भने, उनले युरोपेली संघका सदस्य राष्ट्रबाट विशेष अनुमति लिनुपर्नेछ ।
पुटिनले धेरै वर्षदेखि युरोपेली संघका सदस्य देशहरूको यात्रा गरेका छैनन् । बीबीसीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, "अहिले, यो निश्चित रूपमा स्पष्ट छैन । हामीसँग भएको जानकारी यत्ति मात्र हो कि दुवै राष्ट्रपतिहरू भेट्न इच्छुक छन् ।"
फेब्रुअरी २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि युरोपेली संघले पुटिन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको सम्पत्ति रोक्का (फ्रीज) गरिदिएको थियो । साथै, युरोपेली संघका सबै २७ राष्ट्रहरूको हवाई क्षेत्रबाट रुसी विमानहरूको आवतजावतमा पनि पूर्ण प्रतिबन्ध लगाएको थियो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनका बालबालिकाहरूलाई अवैध रूपमा रुस पठाएको मामिलामा पुटिनमाथि युद्ध अपराधको आरोप पनि लगाएको छ ।