काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवा, रुपन्देहीका कार्यालय प्रमुख इन्स्पेक्टर हरिचन्द्र ढकालसमेत दुई जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।
उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतिवादी बनाइएका अर्कामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्री छन् ।
उनीहरूविरुद्ध भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत मागेको आरोप लगाइएको छ ।
अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले खत्रीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा इन्स्पेक्टर ढकालको पनि मिलेमतो देखिएको अख्तियारले जनाएको छ ।
'निज प्रतिवादीहरु हरिचन्द्र ढकाल र याम बहादुर खत्रीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु.१५,०००।- (पन्ध्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ,' अख्तियारले भनेको छ ।
