काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बाढी र डुवानको मारमा परेको मधेशलाई केन्द्र सरकारले पूरै बेवास्ता गरेको टिप्पणी गरेका छन् ।
आज (बुधबार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले आफू भर्खरै मधेशबाट काठमाडौं फर्किएको उल्लेख गर्दै मधेश अझै पनि बाढी र डुबानको मारमा रहेको भए पनि केन्द्र सरकारको उपस्थिति नदेखिएको गुनासो पोखे ।
‘म अविरल वर्षा हुँदा गृहजिल्लामा थिएँ, मधेश पूरै बाढी, डुवान र कटानको मारमा थियो, तर केन्द्र सरकार कतैपनि देखिएन । बरु स्थानीय सरकारको उपस्थिति देखियो, तर केन्द्र सरकारको कुनै पनि उपस्थिति देखिएन,' साहले भने ।
उनले अहिलेका मन्त्रीहरूले काठमाडौंलाई मात्र महत्त्व दिएको भन्दै प्रश्न गरे । 'म कुलमानजीलाई सोध्न चाहन्छु– के देश भनेको काठमाडौं महानगर मात्रै हो र ? यदि होइन भने तपाईंको निकाय किन मधेश बाढी, कटान र डुवानको मारमा हुँदा देखापरेनन् ?’ उनले प्रश्न गरे ।
साहले उर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङलाई प्रश्न गरे, 'मधेशमा नदीका बाँधहरू भत्किरहँदा तपाईंको नदी नियन्त्रणको हाकिम किन देखा परेन, राजमार्गहरू भत्केर आवागमन अवरुद्ध हुँदा सडक विभाग किन आएन, पूरै सहर डुवान हुँदा शहरी विभाग किन सक्रिय भएन ? के देश भनेको काठमाडौं महानगरमात्रै हो ?'
उनले भने, ‘अविरल वर्षाको कारण सिंगो देश नै विपदमा थियो, सरकार काठमाडौंमा मात्रै देखियो, देश भनेको काठमाडौं मात्रै होइन नि, आज पनि मधेश पूरै डुबानको मारमा छ, खानेपानीको समस्या छ, विजुली समस्या छ, शहरहरू जलमग्न छन् । पानीको निकास छैन । मधेश मुख्य मुख्य शहरहरू अहिले पनि डुवानमा छन् । यस्तो बेलामा सरकार देखिनुपर्ने होइन ? खोई तपाईंहरूको उपस्थिति ?’
उनले बाढीको कारण मधेशमा बाँध भत्किएको, कयौँ बाटो/घाटो भत्काएको अवस्था हुँदा पनि सरकार नदेखिनु मधेशलाई बेवास्ता गर्नु भएको टिप्पणी गरे । मन्त्री घिसिङ नेतृत्वका मन्त्रालयहरू नै प्रत्यक्ष सरोकार राख्ने भएकोले विपद्को बेलामा जनताले साथ खोजेको भए पनि केन्द्र सरकारको उपस्थिति नदेखेपछि जनतामा एक किसिमको आक्रोश रहेको उनको भनाइ छ ।
प्राकृतिक विपत्तिको सबै तहका सरकारले मिलेर सामना गर्ने भए पनि केन्द्र सरकार उद्धार, राहत र पुनःस्थापनाको लागि मधेशमा नदेखिनु दुःखदायी भएको उनको आरोप छ । अहिले पनि कतिपय राजमार्गमा सडक सञ्जाल अवरुद्ध भएको र दुर्घटनाका घट्नाहरु बढ्न थालेको पनि उनले स्मरण गराए ।