काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठक केहीबेरअघि सकिएको हो ।
माओवादी केन्द्रका प्रवक्ता अग्नीप्रसाद सापकोटाका अनुसार विशेष गरेर समाजवादी पार्टीसँग मोर्चाबन्दी र एकताको विषयमा छलफल भएको छ ।
सापकोटाले भने, ‘चुनामा जानको लागि आम सहमति बन्दै छ । सबै पार्टीको बैठकहरू पनि बस्दै छन् ।'
विशेष महाधिवेशन आयोजक समिति बनाउने विषयमा पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल 'प्रचण्ड'ले ब्रिफिङ गरेको उनले बताए ।
'यसैको विषयमा छलफल भएको छ । आजको बैठकमा विशेष गरेर राजनीतिक र वैचारिक विषयमा छलफल भयो,’ सापकोटाले भने ।
प्रवक्ता सापकोटाले विचार, संगठन र राजनीतिलाई नयाँ शिराबाट छलफल गर्नुपर्ने चुनौती आएको बताए । ‘समाजवादी मोर्चालाई व्यापक बनाउँदै विचार मिल्नेहरूसँग एकता पनि गर्नुपर्ने विषयमा छलफल भएको छ,’ उनले भने ।
विशेष महाधिवेशनको मिति आयोजक समिति बनेपछि तोकिने र अगामी असोज २३ गते बस्ने सचिवालय बैठकले यस विषयमा निर्णय लिने उनको भनाइ छ ।
सचिवालय बैठकमा प्रचण्डले पार्टी एकता र ध्रुवीकरणको विषयमा ब्रिफिङ गरेका थिए । माओवादी केन्द्रको असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।
बैठकमा हालको बाढी पहिरोको विषयमा पनि छलफल भएको बताइएको छ ।