काठमाडौं । भारतीय वायुसेनाका एयर चिफ मार्शल अमर प्रीत सिंहले 'अपरेशन सिन्दूर'को समयमा भारतलाई भएको क्षतिको कुरा गर्न नहुने बताएका छन् ।
बीबीसी हिन्दीका अनुसार भारतीय वायुसेनाको ९३औं वार्षिकोत्सवको अवसरमा आयोजित एक पत्रकार सम्मेलनमा एयर चिफ मार्शलले यस्तो बताएका हुन् । 'उनीहरूले (पाकिस्तानले) हामीले यति जेट खसाल्यौँ भने, तपाईंले केही भन्नु भएन । म अहिले पनि केही भन्दिनँ र केही भन्न चाहन्नँ पनि । यदि उनीहरूले मेरा १५ वटा जेट खसालेको सोच्छन् भने, उनीहरूलाई सोच्न दिनुहोस्...'
अमर प्रीत सिंहले अगाडि भने, 'मैले यस बारेमा किन कुरा गर्नु ? म आज पनि यस बारेमा के भएको थियो, कति क्षति भयो भन्ने कुरामा केही बोल्ने छैन । केही बताउनु हुँदैन किनभने उनीहरूलाई थाहा पाउन दिनुहोस् । हामी पनि खोजी-खोजी के गर्न सक्यौँ भन्ने कुरा निकालिरहेका छौँ, त्यसैले उनीहरूलाई पनि निकाल्न दिनुहोस् ।'
यसका साथै एयर चिफ मार्शलले पाकिस्तानलाई भएको क्षतिका बारेमा पनि कुरा गरे ।
उनले बताए कि 'अपरेशन सिन्दूर'को क्रममा भारतले पाकिस्तानका चार ठाउँमा राडार, कमाण्ड र कन्ट्रोल नष्ट गर्यो, जबकि दुई ठाउँमा रनवेलाई क्षति पुर्यायो ।
एयर चिफ मार्शल अमर प्रीत सिंहका अनुसार, भारतीय वायुसेनाले पाकिस्तानी वायुसेनाको एक सी१३० प्लेन र एक एईडब्ल्यूसी प्लेन नष्ट गर्यो । साथै, एक एसएएम सिस्टम (जमीनबाट हावामा मार गर्ने मिसाइल प्रणाली)लाई पनि क्षति पुर्याइयो ।
उनले यो पनि भने कि सम्भवतः चारदेखि पाँच एफ१६ लडाकु विमानहरूलाई पनि क्षति पुगेको छ ।