काठमाडौं । मुम्बईको उच्च अदालतले अभिनेता अक्षय कुमारको आउँदै गरेको फिल्म 'जोली एलएलबी ३' विरुद्ध परेको उजुरी खारेज गरिदिएको छ ।
उक्त उजुरीमा चलचित्रले न्यायाधीश र वकिलहरूको मजाक उडाएको र यसबाट न्याय प्रणालीको गरिमामा ठेस पुग्ने आरोप लगाइएको थियो । उजुरीकर्ताले फिल्मको प्रोमो र संवादहरूले अदालतको प्रक्रियालाई हल्लकफुल्का रूपमा प्रस्तुत गरेको आरोप लगाएका थिए । सोही कारण देखाउँदै उनले अदालतसँग फिल्मको प्रदर्शन रोक्न वा यसमा आवश्यक संशोधन गर्न माग गरेका थिए ।
'एसोसिएसन फर एडिङ जस्टिस' नामक संस्थाले दायर गरेको उक्त निवेदनमा फिल्मको एउटा गीत 'भाई वकील है' का शब्दहरूले सम्पूर्ण वकालत पेसालाई अपमान गरेको दाबी गरिएको थियो ।
साथै, फिल्मका केही दृश्यहरूमा न्यायाधीशहरूलाई 'मामु' भनेर सम्बोधन गरिएको, जुन न्यायपालिकाको गरिमा विरुद्ध भएको आरोप पनि लगाइएको थियो ।
याचिकाकर्ताका वकिल दीपेश सिरोयाले अदालतमा भनेका थिए- यो वकिलहरूको मात्र होइन, न्यायाधीशहरूको पनि मजाक उडाउने काम हो । उनले फिल्मको प्रदर्शन रोक्न र सम्बन्धित गीत हटाउन माग गरेका थिए ।
अदालतले सुनुवाइमा के भन्यो ?
मुख्य न्यायाधीश चन्द्रशेखर र न्यायमूर्ति गौतम अंकलको इजलासले सुनुवाइको क्रममा यो याचिकालाई गम्भीरतापूर्वक लिएको थियो । तर अदालतले स्पष्ट रूपमा उनीहरूलाई यस्ता कुराले कुनै फरक नपार्ने बतायो । बेन्चले मुस्कुराउँदै भन्यो, 'हामी सुरुदेखि नै मजाकको सामना गरिरहेका छौँ । हाम्रो चिन्ता नगर्नुहोस् ।'
यससँगै, अदालतले याचिका खारेज गर्दै फिल्मको प्रदर्शन रोक्ने कुनै आधार नभएको बतायो ।
अर्को अदालतबाट पनि राहत
फिल्म निर्माताहरूले यस्तै खालको याचिका पहिले इलाहाबाद हाईकोर्टमा पनि दायर गरिएको थियो, जसलाई त्यहाँ पनि खारेज गरिएको अदालतमा बताएका थिए ।
यसले अदालतहरूको न्यायपालिकाबारे बनेका सिनेमाहरूमाथि प्रतिबन्ध लगाउने मनसाय नभएको देखाउँछ ।
फिल्मको प्रदर्शन मिति तय
निर्देशक सुभाष कपूरको यो फिल्ममा अक्षय कुमार र अरशद वारसी फेरि एकपटक अदालतको नाटकमा हास्य र व्यंग्यको मिश्रण देखाउँदै छन् ।
जोली एलएलबी शृङ्खलाका अघिल्ला दुवै फिल्मलाई दर्शकहरूले धेरै मन पराएका थिए र अब तेस्रो भागको लागि पनि ठूलो उत्साह छ ।
'जोली एलएलबी ३' आगामी सेप्टेम्बर १९ मा सिनेमाघरहरूमा प्रदर्शन गरिनेछ । मुम्बई उच्च अदालतको यो निर्णयपछि अब फिल्मको प्रदर्शनको बाटो पूर्ण रूपमा खुलेको छ ।
अमरउजालाबाट