काठमाडौं । जेन जी पुस्ताका रूपमा चिनिने २८ वर्षभन्दा मुनिका युवाहरूको आन्दोलनका कारण सोमबार मुलुक आक्रान्त बन्यो । बेथिति तथा कुशासनविरुद्ध मुख्य रूपमा केन्द्रित युवाहरूको यो आन्दोलनमा सरकारले चरम दमन गरेको देखिएको छ ।
आन्दोलन उग्र बन्दै जाँदा आन्दोलनकारीहरू नयाँ बानेश्वरस्थित संसद भवनमै प्रवेश गरे भने संसद भवनको गेट, पर्खाल लगायतमा तोडफोड गरे । केही स्थानमा आगजनी पनि भयो ।
त्यसपछि प्रहरीले टियर ग्यास, अश्रु ग्यास, रबरका गोली तथा हवाइ फायर गर्यो । जसका कारण ठूलो संख्यामा युवाहरू मारिएका छन् ।
यस्तै अवस्था देशका अन्य मुख्य शहरहरूमा पनि रह्यो । पोखरा, बुटवल, भरतपुर, विराटनगर तथा इटहरीलगायतका क्षेत्रमा जेन जीले ठूलो प्रदर्शन गरे ।
त्यसमध्ये धेरै ठाउँको प्रदर्शन हिंसात्मक बन्यो । जसमा परी हालसम्म कम्तिमा १९ जनाको मृत्यु भएको बताइएको छ । त्यसमध्ये दुई जनाको इटहरीमा प्रहरीको गोली लागेर मृत्यु भएको हो ।
एकै दिन खासगरी स्कुल तथा कलेज उमेर समूहका विद्यार्थीहरूले गरेको असंगठित प्रदर्शनमा प्रहरीले यति ठूलो बल प्रयोग गरेको भन्दै सरकारको व्यापक आलोचना भएको छ । गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिएका छन् । उनीमाथि राजीनामा दिन चर्को दबाब परेको छ ।
विश्लेषकहरूले युवाहरूमाथि सरकारले चरम दमन र ठूलो बल प्रयोग गर्दा ठूलो संख्यामा जनधनको क्षति भएको भन्दै कडा टिप्पणी गरेका छन् ।