काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्री र सचिवबीच मंगलबार उक्त सम्झौता भएको हो ।
आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान भएको मन्त्री यादवको सचिवालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको हो ।
सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र उक्त कार्यसम्पादन सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए ।
सरकारको नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालयअन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने मूल उद्देश्यले उक्त सम्झौता गरिएको यादवले बताए ।
‘तीनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै, शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्न, फोहोर पानीको सङ्कलन, प्रशोधन तथा व्यवस्थापनमा विशेष ध्यान दिइनेछ,’ मन्त्री यादवले भने, ‘हाम्रो लक्ष्य वि.सं. २१०० सम्म सबै नेपालीलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउनु हो ।’
मन्त्री यादवले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्याउन सचेत गराए । चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न उनले सचिव, सहसचिवसहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिए ।
सचिव बज्रचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री यादवले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।