काठमाडौं । सोमबार रुसले निकै गम्भीर घोषणा गर्यो । सो दिन रुसले सन् १९८७ मा भएको इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्सेस ट्रिटी (आईएनएफ) मा बाँधिएको नमान्ने घोषणा गर्यो । यसको सोझो अर्थ हो रुसले आईएनएफबाट बाहिरिएको घोषणा गरेको छ ।
यो सन्धिबाट रुस बाहिरिएसँगै विश्व परमाणु संकटको दिशामा थप एक कदम अग्रसर भएको विश्लेषण भइरहेको छ । यो निकै खतरनाक कुरा हो ।
यसअघि अमेरिकाले रुसलाई लक्षित गर्दै दुईवटा न्युक्लियर पनडुब्बी परिचालन गरेको थियो । अमेरिकाले रुसलाई युक्रेनसँग युद्धविराम गर्न दबाब दिँदै आएको छ ।
तर, रुसले त्यसलाई स्वीकार नगरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आक्रोशित भएका छन् । जसका कारण यी दुई वैश्विक नेताको सम्बन्ध पछिल्लो दिन चिसिएको देखिन्छ ।
ट्रम्पले न्युक्लियर पनडुब्बी परिचालन गर्दै रुसलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । तर, रुसले ट्रम्पलाई जवाफ फर्काउँदै धम्की नदिन चेतावनी दिएका थिए । उनले रुस इजरायल या इरान नभएकाले धम्की नदिन चेतावनी दिएका थिए ।
साथै रुसले अमेरिकाले दुईवटा पनडुब्बी परिचालन गर्दैमा रुस नडराउने र ती न्युक्लियर सबमरिन पहिल्यैदेखि आफूहरूको निशानामा रहेको चेतावनी दिएको थियो ।
अब रुसले ट्रम्पलाई सोचेर बोल्न चेतावनी दिएको छ । रुसले ट्रम्पलाई परमाणु हतियारका बारेमा बोल्ने समयमा निकै सोचेर बोल्न चेतावनी दिएको हो ।
अनि पश्चिमा देशहरूको रबैयाका कारण आफू आईएनएफबाट बाहिरिनुपरेको रुसले जनाएको छ । रुसी विदेश मन्त्रालयले भनेको छ- उक्त सन्धि कायम राख्नका लागि सर्तहरू बाँकी छैनन् । र देशहरूले आफूले कोरेका सीमाहरू मानेका छैनन् ।
रुसी विदेश मन्त्रालयले फिलिपिन्समा मिसाइल लन्चरको तैनाथी तथा अस्ट्रेलियामा तालिस्मन सेबर अभ्यासका क्रममा मिसाइल प्रहार गर्नेसहित अमेरिकी गतिविधि यो निर्णयको कारक रहेको बताएको छ ।
आईएनएफ सन्धिले ५०० देखि ५३०० किलोमिटरको रेन्ज रहेको जमिनबाट लन्च गरिने परमाणु तथा पारम्परिक मिसाइलमाथि प्रतिबन्ध लगाउँथ्यो । सन् १९८७ मा अमेरिका र रुसबीच यो सन्धि भएको थियो ।
यो सन्धि तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र रुसी राष्ट्रपति मिखाइल गोर्बाचेबले हस्ताक्षर गरेका थिए । यसको उद्देश्य कुनै पनि प्रकारको परमाणु संघर्षलाई रोक्नु थियो ।
अमेरिका भने सन् २०१९ मा डोनाल्ड ट्रम्पकै कार्यकालमा यो सन्धिबाट पछि हटेको थियो । त्यसबेला रुसले सन्धिको उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका सन्धिबाट बाहिरिएको थियो ।