काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबीसहित हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
आज पत्रकार सम्मेलन गरी उक्त अभियानका संयोजक दीपक बोहराले आम्दानी र खर्चलगायतका विवरण सार्वजनिक गरेका छन् ।
रास्वपाले असार ७ गतेदेखि यो अभियान सुरु गरेको हो । यो अभियान हालसम्म २५ दिन चलेको र यसलाई १०० दिनसम्म चलाउने रास्वपाले जनाएको छ । रास्वपाका अनुसार हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितले अभियानको नेतृत्व गरेका छन् । साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन भन्दै घरदैलो गर्ने जनाइएको छ ।
यसका साथै रास्वपाले नेपाल-भारत सीमा नाकाका मुख्य विन्दु (काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गर्ने जनाएको छ ।
यसका लागि उपचुनाव हुने गरी मिति तय भएको रुपन्देही- ३ का ३६ वटै वडामा बुथमार्फत अभियान चलाइने पनि रास्वपाले जनाएको छ ।
रास्वपाले हालसम्म सातै प्रदेशका साथै केन्द्रीय कार्यालय एवं ह्वाट्सएप र इमेलबाट गरी कुल २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन भएको जनाएको छ ।
यो अभियान चलाउनका लागि रास्वपाले छुट्टै कोष बनाएको र यसको खर्चो सोही कोषमार्फत भएको जनाइएको छ । यो अभियान चलाउँदा हालसम्म ५९ लाख ६७ हजार खर्च भएको रास्वपाले जनाएको छ ।
यो अभियानका क्रममा हालसम्म ४६ लाख १२ हजार सहयोग प्राप्त भएको र अहिलेसम्म कुल १३ लाख ५४ हजार घाटामा रहेको रास्वपाले जनाएको छ ।