काठमाडौं । रुससँगको युद्धमा रहेको युक्रेनमा सत्ता परिवर्तन भएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उपप्रधानमन्त्री युलिया सुरिन्डेन्कोलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रस्ताव गरेका छन् ।
युलियाले युक्रेनका थुप्रै महत्त्वपूर्ण पदहरूमा रहेका जिम्मेवारी पूरा गरिसकेकी छन् । उनले आर्थिक विकास, व्यापार मन्त्री तथा राष्ट्रपति कार्यालयमा उपप्रमुखको रूपमा पनि काम गरिसकेकी छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति जेलेन्स्कीले आफूहरू युक्रेनमा कार्यपालिकामा फेरबदलको सुरुवात गरेको बताएका छन् ।
‘मैले सुरिन्डेन्कोलाई युक्रेनको सरकारको नेतृत्व गर्न तथा कामकारबाहीलाई अझ प्रभावकारी बनाउनका लागि बोलाएको छु । म भविष्यमा नयाँ सरकारको कार्यक्रम पेस गर्नका लागि उत्सुक छु,’ जेलेन्स्कीले भनेका छन् ।
युलिया अहिले ३९ वर्षकी भइन् । उनी सन् २०२१ मा युक्रेनको उपप्रधानमन्त्री बनेकी थिइन् ।
युलियालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै जेलेन्स्कीले निवर्तमान प्रधानमन्त्री डेनिस शम्हाललाई नयाँ रक्षामन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
जेलेन्स्कीको यो प्रस्तावलाई युक्रेनी संसदले मन्जुरी दिइसकेको छैन । यद्यपि, रुस-युक्रेन युद्धयता युक्रेनी संसदले जेलेन्स्कीका महत्त्वपूर्ण निर्णयमा साथ दिँदै आएको छ ।
त्यसलाई हेर्दा उनले गरेको प्रधानमन्त्रीको प्रस्ताव संसदले अनुमोदन गर्ने जानकारहरूले बताएका छन् ।