काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरेको छ ।
खानेपानीको माग गर्दै विगत ६ दिनदेखि आन्दोलनरत सुकुम्बासी संघको माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए ।
सुकुम्बासी संघले विगत ६ दिनदेखि केयूकेएलको कार्यालयअगाडि धर्ना सहित कार्यालय घेराउ गर्दै आएको छ । आफूहरूको माग पूरा नभए नेताहरूको ढोका ढोकाका साथै सिंहदरबारमा समेत तालाबन्दी गर्ने चेतावनी आजपा प्रवक्ता साहले दिए ।
काठमाडौंको सुकुम्बासी बस्तीमा सरकारले खानेपानी रोकेको र आफूहरू खानेपानीको माग गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलन गर्दा समेत माग सुनुवाइ नगरेपछि बाध्यभएर कार्यालयमा तालाबन्दी गर्नुपरेको आजपा नेता त्रिभुवन साहले बताए ।
सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । सरकारले खानेपानी नदिएर मानवता विरोधी आपराध गरेको उनले बताए ।
‘आजको २१औँ शताब्दिमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौँ । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने ।
सहभागीहरूले हातहातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देउ भन्दै केयूकेएलको कार्यालय घेराउ गर्दै सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् । ‘घरघरमा पानी दे, एक घर एक धारा यो नै हो हाम्रो नारा, खानेपानीको विभेद अन्त्य गर, खानेपानी आर्शिवाद होइन अधिकार हो, खानेपानी नदिने सरकार बेकार हो, खानेपानी चोर कुर्सी छोड’ लगायतका नाराबाजी गर्दै आन्दोलन भइरहेको छ ।
काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी दिनुपर्ने र तराई मधेशमा देखिएको खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने बारेमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदमा निरन्तर आवाज उठाउँदै आएका छन् । साहले देशैभरि देखिएको खानेपानीका साथै सिँचाइको अभावमा किसानले धान खेती गर्न समस्या भोगिरहेको बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
संसददेखि सडकसम्म पानीको माग गर्दै सरकारको चर्को आलोचना भइरहेको छ । काठमाडौंको सुकुम्बासी बस्तीदेखि तराई मधेशका जिल्लामा खानेपानीको माग गर्दै चर्को रूपमा आवाज उठिरहेको छ ।
संसदमा सांसदहरुले तराई मधेशका जिल्लामा इनार, चापाकल सुकेकाले खानेपानीको अभाव भएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले चासो नदिएको गुनासो सर्वसधारणले गर्दै आएका छन् ।