काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछिको पहिलो कारोबार दिनमा नेप्सेले सकारात्मक संकेत गरेको हो ।
आज शेयर बजार परिसूचक नेप्से २९.०० अंकले बढेर २७६०.८० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.१६ अंकले बढेर ४८१.१९ विन्दुमा पुगेर बन्द भएको छ ।
आज १३ मध्ये ५ समूहको सूचक घट्दा ८ समूहको सूचक बढेको छ । आज हाइड्रोपावर समूहको सूचक सबैभन्दा बढी ०.८३ प्रतिशतले घटेको छ ।
आज माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा बढी ३.५० प्रतिशतले बढ्दा बैंकिङ समूहको सूचक ३.३७ अंकले बढेको छ ।
नेप्सेका अनुसार आज ३११ कम्पनीको शेयर कारोबार भएकोमा १५८ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै ९० कम्पनीको शेयर मूल्य भने घटेको छ ।
आज अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत बिहीबार ९ अर्ब ६८ करोडको कारोबार भएको थियो ।
आज ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँको कारोबार भएको छ ।
आज एनआईसी एसिया बैंक, खानीखोला हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै जीवन विकास लघुवित्तको शेयर मूल्य पनि ९.६१ प्रतिशतले बढेको छ । त्यस्तै हिमालय हाइड्रोपावर, राप्ति हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन तथा भगवती हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी घटेको छ ।
आज एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ ।