काठमाडौं । दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्पको रुझान युक्रेनप्रति सकारात्मक देखिएको थिएन । उनले अमेरिकी राष्ट्रपतिको ओभल अफिसमा पत्रकारहरूकै सामुन्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति धेरैलाई अचम्ममा पार्ने गरी रुखो व्यवहार गरे ।
यसका साथै उनले पटक-पटक रुस र राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नरम व्यवहार देखाए । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता मात्रै ट्रम्प र पुटिनबीच कम्तिमा ६ पटक टेलिफोन वार्ता भइसकेको छ ।
तर, पछिल्लो समय ट्रम्पको रबैयामा केही फेरबदलको संकेत मिलेको छ । जसका कारण अमेरिकी साथ नपाउँदा दबाब महसुस गरेको किभलाई केही राहात भने पुग्ने देखिन्छ ।
आइतबार युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको पछिल्लो टेलिफोन कुराकानीबारे जानकारी दिएका छन् । र, उनी ट्रम्पसँगको पछिल्लो कुराकानीप्रति निकै सकारात्मक देखिएका छन् । यो युक्रेन पक्षधरहरूका लागि निकै सुखद समाचार हो ।
यो कुराकानीका क्रममा ट्रम्पले जेलेन्स्कीलाई त्यस्तो आश्वासन दिएका छन् जसको उनले लामो समयदेखि प्रतीक्षा गरिरहेका थिए । पछिल्लो समय रुसको बढ्दो आक्रामकता रोक्न अमेरिकाले हतियार दिने जेलेन्स्कीको भनाइ छ ।
‘हामीले अमेरिकी ड्रोन निर्माता कम्पनीसँग सम्झौता गरेका छौँ,’ जेलेन्स्कीले भनेका छन्, ‘मैले र राष्ट्रपति ट्रम्पले राम्रो कुराकानी गरेका छौँ ।’
ट्रम्पले पनि जेलेन्स्कीसँगको कुराकानीपछि युक्रेनलाई आफ्नो रक्षाका लागि प्याट्रियट मिसाइल आवश्यक पर्ने बताएका छन् । अनि सँगै उनले पुटिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप पनि लगाए ।
ट्रम्पले यसअघि पछिल्लोपटक पुटिनसँगको वार्ताले आफू निराश भएको टिप्पणी गरेका थिए । पुटिनले युद्ध जारी राख्न चाहेको र यसबाट आफू खुसी नभएको ट्रम्पको भनाइ छ ।
यसअघि ट्रम्पले आफूभन्दा अघिका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दिने भनेर बाचा गरेका हतियारको आपूर्तिमा रोक लगाएका थिए । तर, केही समयकै अन्तरालमा ट्रम्पमा देखिएको यो महत्त्वपूर्ण परिवर्तनले युक्रेनलाई ठूलो राहत दिनेछ ।
ट्रम्प युक्रेनलाई हतियार आपूर्ति गर्न पनि सहमत देखिएको संकेत गरेका छन् । जेलेन्स्कीले आग्रह गरेअनुसार अमेरिकाले युक्रेनलाई थप प्याट्रियट मिसाइलहरू आपूर्ति गर्न सहमत हुनेछ कि भनेर सोध्दा, ट्रम्पले भने- ‘उनीहरूलाई प्रतिरक्षाका लागि ती चाहिन्छ... उनीहरूलाई केही चाहिन्छ किनभने उनीहरूलाई धेरै नराम्ररी हमला भइरहेको छ ।‘
युक्रेनले थप प्याट्रियट मिसाइल प्रणालीहरू आफूलाई बेच्न वासिङ्टनलाई आग्रह गर्दै आएको छ । उक्त मिसाइल प्रणालीले रुसको बढ्दो हवाइ आक्रमण रोक्न सहयोग पुग्ने युक्रेनको अपेक्षा छ ।
उता रुसको आक्रमकता भने रोकिएको छ । ट्रम्पसँग पुटिनले कुराकानी गरेको केही घण्टापछि नै रूसले युक्रेनको राजधानीभर हालसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमणसहित किभमा बमबारी गरेको थियो ।