टोरण्टो क्यानडा । इन्टरनेशनल म्युजिक डेको अवसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको ‘रामकृष्ण ढकाल साँझ’ भव्य रूपमा सम्पन्न भएको छ ।
ढकालले स्टेजमा हार्मोनियम बजाँउदै ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस...’ गाउन सुरु गरेपछि दर्शकहरूले तालिको गडगडाहटले उनको स्वागत गरेका थिए ।
ब्राम्पटनको भुखाराग्रील रेस्टुरेन्टको हलमा खचाखच भरिएका दर्शक माझ गायक ढकालले चरीले त छाडेर गैगयो..., मन पराउने हजार भेटीन्छन्..., माया गर्नेको..., ओराली लागेको..., जस्ता गीतहरू सुनाएका थिए ।
साथै उनले स्वरसम्राट स्व. नारायण गोपालका केही गीत र युगल गीत पनि सुनाएका थिए । ढकाललाई युगल गीतमा गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिइन् । तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले ढकाललाई साथ दिए ।
एकल साँझ कार्यक्रम जुन २१ तारेख अर्थात शनिबार असार ७ गते भएको हो ।
हालसम्म २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौँ गीतहरू चर्चित छन् । उनले ५ हजारभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरूलाई यो एक उत्कृष्ट कार्यक्रम रहेको आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताए । कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरूलाई आयोजक समितिका अध्यक्ष कमल ज्ञवालीले धन्यवाद दिए ।
‘रामकृष्ण ढकाल साँझ’ कार्यक्रमबाट बचेको रकम ब्राम्पटनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पूजा अर्चना गरी हस्तान्तरण गरिएको छ । समूहको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार बिहान मन्दिरमा पूजा अर्चना गरी रकम हस्तान्तरण गरिएको कार्यक्रम संयोजक ऋषि पोख्रेलले बताए ।