काठमाडौं । रुस र युक्रेनबीचको जारी युद्धमा रुसको पल्ला भारी हुन थालेको चिन्ताका बीच युक्रेनको पोक्रोभ्स्क शहर कब्जा गर्ने तयारीमा क्रेमलिन रहेको विषय सार्वजनिक भएको छ ।
युक्रेनका सेनाप्रमुख ओलेक्सान्द्रो सिर्स्कीले रुस पोक्रोभ्स्क शहर कब्जाको तयारीमा रहेको बताएक छन् । यो शहर पूर्वी युक्रेनमा रहेको डोनेट्स्क प्रन्तमा रहेको छ ।
सिर्स्कीले त्यसका लागि रुसले १ लाख १० हजारभन्दा बढी सैनिकहरू तैनाथ गरेको पनि दावी गरेका छन् । उनले यो शहर जारी युद्धमा निकै तनावपूर्ण रहेको पनि बताए ।
गत वर्षदेखि नै रुसले पोक्रोभ्स्क शहर कब्जा गर्ने प्रयास गरेको थियो । तर, पनि सफल हुन भने सकेको थिएन । युक्रेनी सेनाले पोक्रोभ्स्क कब्जा गर्ने रुसको प्रयासलाई असफल पारिदिएको थियो ।
युक्रेनमा पोक्रोभ्स्कलाई रणनीतिक महत्त्वको शहरका रूपमा लिइन्छ । यो शहर हुँदै युक्रेनका महत्त्वपूर्ण सडक र रेलवे सञ्जालहरू जाने गर्दछन् ।
युक्रेनका कोस्तियान्तिनिव्का, क्रामातोर्स्क र स्लोभियान्स्क शहरहरूमा रहेका सैन्य केन्द्रहरूसँग पनि यो शहर हुँदै जाने सडक र रेलवे सञ्जालहरू जोडिन्छन् । त्यसैले यो शहर रुसले कब्जा गरेमा त्यसले युक्रेनलाई ठूलो धक्का लाग्नेछ ।
पोक्रोभ्स्कमा नियन्त्रण स्थापित गरेर रुसले विश्वसामु आफ्नो सैन्य शक्तिको प्रदर्शन गर्न चाहेको आरोप सिर्स्कीले लगाए । ‘रुसी सैनिक पोक्रोभ्स्कमा पुगेर र त्यहाँ आफ्नो झण्डा फहराएर नकली जितको दाबी गर्न चाहन्छन्,’ उनले भनेका छन् ।
उक्त शहरमा युद्ध सुरु हुनुअघि ६० हजार मानिसहरू बस्ने गर्दथे । तर, युद्ध सुरु भएयता त्यहाँका धेरै बासिन्दाहरू विस्थापित भइसकेका छन् ।
त्यसो त रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डोनेट्स्क र लुहान्स्क जस्ता युक्रेनका शहरहरू कब्जा गर्न चाहन्छन् भन्ने देखिइसकेको छ । त्यसको एउटा महत्त्वपूर्ण हिस्सा पनि पोक्रोभ्स्क हो । जसका कारण यो शहर कब्जा गर्ने दिशामा रुस अघि बढेको किएभको आरोप छ ।