काठमाडौ । भारतमा एउटा अचम्मको घटना भएको छ । आफ्ना श्रीमानसँगको यात्रामा रहेकी नवविवाहिता गुड्दागुड्दैको रेलबाट बेपत्ता भएकी हुन् । यो घटनाका कारण स्थानीयहरूमा खैलाबैला मच्चिएको छ ।
कुरा भारतको समस्तीपुर जक्शनको हो । जहाँबाट एक नवविवाहिता महिला रहस्यमय तरिकाले रेलबाट बेपत्ता भएकी छिन् । भारतीय मिडियाहरूका अनुसार यो घटना दरभंगा र समस्तीपुर जिल्लाको बीचको हो, जसले गर्दा यस क्षेत्रमा चर्चाको विषय बनेको छ ।
भारतीय मिडियाहरूले बेपत्ता भएकी महिलाका पतिलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेका छन् । पतिले दिएको जानकारी अनुसार, बेहुलीले गुडिरहेको ट्रेनमा बाथरुम जाने कुरा गरेर सिटबाट उठेकी थिइन् र त्यसपछि फर्केर आइनन् । यसैबीच उनको मोबाइल पनि स्विच अफ भयो ।
यो घटनाको जानकारी बेगुसराय जिल्लाको तेघरा निवासी महिलाका पति सुमित कुमारले दिएका हुन् ।
सुमितले बताएअनुसार उनको विवाह ४० दिनअघि मात्रै मे महिनामा आँचल कुमारीसँग भएको थियो । २८ जुनमा दुवैजना हावडा-जयनगर एक्सप्रेस ट्रेनबाट तेघराबाट दरभंगाको लहेरियासराय जाँदै थिए ।
समस्तीपुर स्टेशन नजिकै आँचलले सुमितलाई बाथरुम जान लागेको बताइन्, तर धेरै बेरपछि पनि उनी फर्केर आइनन् । ट्रेन लहेरियासराय स्टेशन पुगिसकेको थियो, तर आँचलको कुनै खबर थिएन ।
नवविवाहिता पत्नी बाथरुमबाट नफर्किएपछि सुमितले पूरै ट्रेनमा खोजी गर्न थाले । पटक-पटक मोबाइलमा फोन गर्दा पनि फोन लगातार स्विच अफ बताइरहेको थियो ।
घटनापछि सुमितले तुरुन्तै आफ्नो परिवार र ससुरालीलाई जानकारी दिए । परिवारका सदस्यहरूले पनि आ-आफ्नो स्तरबाट आँचलको खोजी गरे, तर कुनै सफलता मिलेन । अन्ततः सुमितले रेल थानामा निवेदन दिएर पत्नीलाई खोजिदिन अनुरोध गरेका छन् ।
यो मामिलालाई लिएर बेहुलीकी आमा प्रभा देवीले पनि चिन्ता व्यक्त गरेकी छिन् । उनले छोरीको भर्खरै विवाह भएको र अहिले उनी आफ्नो ससुरालमै बसिरहेको बताइन् ।
प्रभा देवीका अनुसार आँचल आफ्नो बुबालाई हेर्न लहेरियासराय जाँदै थिइन् । उनका बाबुलाई केही समय पहिले हर्ट अट्याक भएको थियो । जसका कारण उनी किन बेपत्ता भइन् भन्ने बुझ्न नसकेको प्रभा देवीको भनाइ छ ।
प्रहरीका अनुसार यस मामिलामा अहिलेसम्म कुनै स्पष्ट सुराक फेला परेको छैन । दरभंगा जीआरपी थानाका अध्यक्ष अरुण कुमारले आफूलाई यस सम्बन्धमा अहिलेसम्म कुनै निवेदन प्राप्त नभएको बताए । उनले निवेदन प्राप्त हुने बित्तिकै तत्काल कारबाही सुरु गरिने बताए ।
यसैबीच, पति सुमित कुमारले चाँडै आफ्नी पत्नी सकुशल भेटिने आशा व्यक्त गरेका छन् । यस घटनापछि यात्रुहरूमा पनि त्रासको माहोल छ ।
गुडिरहेको ट्रेनमा कुनै महिला अचानक बेपत्ता हुनु र यसबारेमा कसैले जानकारी नपाउनुले गम्भीर प्रश्न खडा भएको भारतीय मिडियाहरूले जनाएका छन् ।
कसैले षड्यन्त्रपूर्वक ती महिलालाई बेपत्ता बनाएको हो या उनी आफैँ बेपत्ता भएकी हुन् भन्ने कुरा अनुसन्धानको विषय रहेको र प्रहरी अनुसन्धानपछि मात्रै यस विषयको निर्क्यौल हुने बताइएकव छ ।