वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मुलुकका लागि फजुल खर्चबाहेक अरु केही नभएको टिप्पणी गरेका छन् । युद्धरत मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन नसक्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरू लावालस्करसहित विदेश जानुको कुनै अर्थ नभएको उनले बताए ।
बिहीबार वीगरगञ्जमा आजपाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण असार १६ देखि १९ सम्म हुँदै छ । ‘प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन । गत वर्ष पनि बाढी/पहिरो आउने बेलामा उहाँ विदेशमा सयर गर्दै हुनुहुन्थ्यो, अहिले फेरि विदेश सयरमा निस्किँदै हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणको कुनै उपलब्धि हुँदैन, लावालस्कर लागेर यसरी हिँड्नु जनताको करको चरम दुरूपयोग हो,’ साहले भने ।
सरकारले बजेटको चरम दुरूपयोग गरेको साहको आरोप छ । सरकारपिच्छेको मनोमानी कर आतंकले नेपाली जनता, उधोगी, व्यापारीको व्यापार व्यवसाय धरासायी बन्दै गइरहेको साहले बताए ।
कांग्रेस र एमालेको अहिलेको वर्तमान गठबन्धन अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रि भएको उनको दावी छ । ‘शेरबहादुर देउवाले तत्काल कोर्स करेक्सन गर्नुपर्छ । नेचुरल गठबन्धनमा जाँदा नै देशको हित हुन्छ,' उनले भने ।
‘यो सरकार नेपाली जनताको लागि बोझ भएको थियो । अहिले त कांग्रेस र एमालेकै कार्यकर्ताहरूको लागि पनि ठूलो बोझ भएको छ,' साहले भने, 'स्वार्थहरूको गठजोडले गर्दा अहिलेसम्म टिकेको हो, अब विस्फोटन हुने बेला भैसकेको छ ।'
सरकारले कुनै पनि मोर्चामा सफलता हात पार्न नसकेको साहको टिप्पणी छ । 'यो सरकार कुनै पनि मोर्चामा सफल छैन । न राष्ट्रिय राजनीति सङ्लो छ । न विदेश सम्बन्ध सन्तुलित छ,' उनले भने ।
यो सरकारले अर्थतन्त्रलाई धराशयी बनाएको साहको टिप्पणी छ । ‘सरकारले अर्थतन्त्र धाराशयी बनायो । देशभरि सडकहरूको कन्तबिजोग छ । तर, प्रधानमन्त्री वर्षौंदेखि थालिएको कामको ग्वार्को ओभरपासलाई ‘फ्लाईओभर’ भनेर रिबन काट्न जानुहुन्छ । यो नाटक बन्द गर्नुहोस्,' साहले भने, 'राजमार्गमा दिउँसै बसहरू अलपत्र छन् । त्रिशुलीमा खसेका बस अहिलेसम्म अत्तोपत्तो छैन । दैनिक लाखौँ जनता ओहोरदोहोर गर्ने राजमार्गहरूको हालत कस्तो छ ?’