काठमाडौं । बिहीबार पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से सूचक ४.४५ अंकले घटेर २,५९५.७४ अंकमा झरेको छ । यो साता मंगलबारदेखि लगातार तीन दिनसम्म नेप्से ओरालो लागेको हो ।
बिहीबार बैंकिङ र बिमा समूहका सेयर मूल्य घटेपछि नेप्सेमा गिरावट आएको हो । नेप्सेमा कारोबार भएका १५५ कम्पनीको सेयर मूल्य घटेको छ। सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले घटेको छ ।
यद्यपि, बिहीबार कारोबार रकम भने अघिल्ला दिनको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । कुल ३ सय ६ कम्पनीको ७४ हजार २ सय ३९ कारोबारबाट १ करोड ९६ लाख ५० हजार २ सय १० कित्ता सेयर खरिद-बिक्री भई ७ अर्ब ७८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । बुधबार यो रकम ५ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।
समूहगत परिसूचक हेर्दा बैंकिङ, फाइनान्स, होटल, लगानी, जीवन बिमा, उत्पादनमूलक, निर्जीवन बिमा, अन्य र व्यापार समूहमा गिरावट आएको छ ।
त्यस्तै, विकास बैंक, जलविद्युत र लघुवित्त समूहका परिसूचक भने बढेका छन् ।
बिहीबार ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । अर्कोतर्फ, रिलायबल समृद्धि योजनाको ९ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।
बिहीबार सबैभन्दा धेरै रकम बराबरको सेयर बुटवल पावर कम्पनीको किनबेच भएको छ । सिंगटी हाइड्रोपावर कम्पनीको धेरै कित्ता सेयर कारोबार भएको छ भने धेरै पटक कारोबार हुने कम्पनीमा बरुण हाइड्रो रहेको नेप्सेले जनाएको छ ।