काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सकारद्वारा गठित समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ ।
माओवादीको तर्फबाट प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै वर्षमान पुनले त्यस्तो चेतावनी दिएका हुन् । संसदको अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने यो छानबिन समितिप्रति असन्तुष्टि जनाएको थियो ।
भिजिट भिसा प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आफूहरूको निगरानी र खबरदारी जारी रहने पुनको भनाइ थियो ।
सत्तारुढ दल र प्रतिपक्षबीच गत ३० जेठमा भएको दुई बुँदे सहमतिअनुसार सरकारले उच्चस्तरीय छानबिन तथा अध्ययन समित गठन गरेको भन्दै उनले धन्यवाद दिए ।
पुनले समितिले दक्षतापूर्वक प्रभावकारी छानबिन गर्नुपर्नेमा जोड दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य सचिव शंकरदास बैरागी नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिनका लागि ‘उच्चस्तीय अध्यन तथा छानबिन समिति’ गठन गर्ने निर्णय गरेको थियो । सरकारल तर्फबाट गृहमन्त्री रमेश लेखकले समिति गठनसम्बन्धी मन्त्रिपरिषदको निर्णयबारे सदनलाई जानकारी गराएपछि पुनले दलका तर्फबाट धारणा व्यक्त गरेका छन् ।
त्यसअघि माओवादी केन्द्रसहित विपक्षीले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै १८ दिनसम्म लगातार संसद बैठक बहिस्कार गेरका थिए । ‘भिजिट भिसा र अध्यागमनमा देखिएका समस्याहरू वितदेखि नै कहाँनेर हुन् र कसरी हुन् ? कहाँनेर ‘ग्रे एरिया’ छ जसले गर्दा विभिन्न अपराध वा यस्ता घटनाहरु हुने गरेका छन्’, पुनले भने, ‘समितिले सत्यतथ्य छानबिन गरोस् र जनताको भावनाअनुसार प्रतिवेदन र सुझावहरू प्रस्तुत गरोस् भन्ने हाम्रो अपेक्षा छ । तथ्यसंगत ढंगले छानबिन भएन, अविश्वासहरू पैदा भए भने जनताका तर्फबाट निगरानी र खबरदारी हुनेछन् । हामी स्वयं प्रमुख प्रतिपाक्षीको तर्फबाट निगरानी र खबरदारी गरिराख्नेछौँ ।’
पुनले भिजिट भिसा प्रकरणबारे संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको भन्दै त्यस्तो छानबिन निष्पक्ष, पारदर्शी तथा प्रमाण र तथ्यसंगत होस् भन्ने आग्रह गरे ।
अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर पनि भिजिट भिसा प्रकरणसँग जोडिएका ट्राभल एजेन्सी, मेनपावर, एयरलाइन्स कम्पनी र नेपालस्थित अन्तर्राष्ट्रिय नियोगका व्यक्तिहरू समेत मुछिएको भन्ने समाचार सञ्चार माध्यममा आएकाले ती विषयको छानबिन उच्चस्तरीय समितिले गर्नुपर्ने माग उनको छ ।