काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राज्यका हरेक निकायमा बेथिति, अनियमितता र भ्रष्टाचार बढिरहेको टिप्पणी गरेका छन् ।
उनले जहाँ सरकार छ त्यहाँ भ्रष्टाचार रहेको आरोप लगाए । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि विभिन्न मन्त्रालयगत छलफलमा भाग लिँदै यस्तो टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन ल्याउँछु भनेर बोले पनि अहिले कांग्रेस र एमालेको दुई दलीय संयन्त्रको अभ्यास गरिएको भन्दै आलोचना गरे । उनले प्रधानमन्त्री ओलीले आफू जनताप्रति उत्तरदायी छु भनेर भनेको भए पनि आजको संसदमा प्रधानमन्त्रीको कार्यालयमाथि छलफल हुँदा उपस्थिति नभएको भन्दै विरोध जनाए ।
प्रधानमन्त्रीले संसद्लाई कुन हैसियत र महत्त्व दिएको भन्ने कुरा आजको बैठकमा नआएको र त्योपनि नेपालमै र काठमाडौंमा नै हुँदा नआएकोमा साहले आक्रोश पोखे ।
उनले भने, ‘आज उहाँको नेतृत्वमा रहेको कार्यालयमाथि छलफल चलिरहेको छ, तर उहाँ काठमाडौंमा हुँदा पनि बैठकमा आउनुभएन । उहाँले बजेटलाई कति महत्त्व दिनुभएको छ भन्ने कुरा यसले देखाउँछ । जनप्रतिनिधिहरूको सर्वोच्च संस्था यो संसद्लाई कसरी बुझ्नुभयो ? संसदलाई जवाफ नदिने जनउत्तरदायी ? उहाँले भन्नुहुन्छ म जनताको झोले हो, तर क्याप्चरको कुरा गर्नुहुन्छ ।'
उनले अहिले देशमा उद्योगहरू बन्द भैरहेको, व्यापार तथा व्यवसाय चौपट भएको पनि उल्लेख गरे । हिजो ५० हजारसम्म बिक्रि हुने पसलमा आज बिक्री वितरण घटिरहेको र सटरहरू बन्द हुन थालेको पनि साहले दृष्टान्त सुनाए । यी सबै हुनुमा कर आतंक मुख्य दोषी रहेको उनको दाबी छ ।
उनले भने, ‘अहिले सरकारपिच्छे सरकारको करमाथि करको आतंक छ । जसको कारण उत्पादन महँगो भयो । हाम्रो अर्थतन्त्र ड्यामेज भयो । नेपालको पुँजी जगेर्णा गर्नुपर्दथ्यो । नेपालका उद्यमीहरूलाई बचाउनुपर्दथ्यो । नेपालको पुँजी पलायन गराउने बजेट ल्याएका छौँ । यसो गरेपछि हाम्रो अर्थतन्त्र कहाँ पुग्छ भन्ने प्रश्न गर्न चाहन्छु । हामी ग्रे–लिष्टमा परेका छौँ ।'