काठमाडौं । अन्तर्रष्ट्रिय संगीत दिवस (ईन्टरनेशनल म्युजिक डे) को अवसरमा २१ जुन अर्थात शनिबार साँझ क्यानडाको ब्राम्पटन शहरमा रामकृष्ण ढकाल साँझ आयोजना हुने भएको छ ।
उक्त कार्यक्रममा गायक रामकृष्ण ढकालले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
नेपाली सुगम संगीतका हस्ती गायक ढकालको एकल साँझ असार ७ अर्थात आज हुन लागेको हो ।
बेलुकी ७ बजे देखि १० बजे सम्म हुने 'रामकृष्ण ढकाल साँझ'मा आधुनिक गीत संगीतका पारखीहरूले भरपुर आनन्द र मनोरञ्जन लिने आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताए ।
भुखाराग्रील रेस्टुरेन्टको हलमा हुने सो विशेष कार्यक्रम नितान्त पारिवारिक रूपमा आयोजना गरिएको छ । पारिवारिक समूह 'प्रगतिशील समूह'को आयोजनामा हुने कार्यक्रममा करिब १ सय जनाको सहभागी रहने र कार्यक्रमको टिकट पनि बिक्री भैसकेको कार्यक्रम संयोजक कमल ज्ञवालीले जानकारी दिए ।
गायक ढकाललाई तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिनेछन् ।
सो कार्यक्रमको मुख्य प्रायोजक पोख्रेल ल फर्म (अधिवक्ता राजेन्द्र पोख्रेल) रहेका छन् भने प्रायोजकमा एक्सपेरियर फाईनान्सिएल ग्रुप, एभरेष्ट रियालिटीका जगन सापकोटा र गणेश ज्ञवाली, एडमार्कका रुद्र कार्की र तावाघर रेस्टुरेन्ट कि संचालक सीता राना रहेका छन् ।
कमिडिया पार्टनरमा क्यानडा नेपाल न्युज डटकम रहेको छ ।
कार्यक्रममा गायक ढकालका चरीले त छाडेर गैगयो..., मन पराउने हजार भेटिन्छ्न्..., माया गर्नेको..., ओराली लागेको..., बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्..., लगायतका तथा नारायण गोपालका केही गीत पनि सुनाउनेछन् ।
२०४५ मा १३ वर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौँ गीतहरू चर्चित छन् । उनले ५ हजार भन्दा बढी गीत गाएका छन् ।
प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरूलाई यो एक उत्कृष्ट कार्यक्रम हुने आयोजकको अपेक्षा छ ।a