काठमाडौं । गत शुक्रबार इजरायलले इरानमाथि भीषण आक्रमण गरेपछि यी दुई देशपछि पछिल्लो टकराव सुरु भएको छ । शुक्रबार इजरायलले अपरेशन राइजिङ लायन सुरु गर्दै इरानमाथि २०० भन्दा बढी फाइटर जेटले आक्रमण गरेको थियो ।
इजरायलले गरेको उक्त आक्रमणका कारण इरानले ठूलो क्षति व्यहोर्नुपरेको छ । इजरायली आक्रमणका कारण इरानका १४ जना वैज्ञानिकका साथै २० जनाभन्दा बढी सैन्य कमान्डर मारिएका छन् ।
आफूमाथि इजरायलले भीषण आक्रमण गरेपछि इरानले पनि जवाफी आक्रमण सुरु गर्यो । त्यसक्रममा इरानले इजरायलमाथि सयौँ मिसाइल आक्रमण गरेको छ ।
त्यसको भोलिपल्ट इजरालले इरानको रक्षा मन्त्रालयलाई निशाना बनाउँदै आक्रमण गर्यो । उता इरानले इजरायलका तीनवटा एफ३५ फाइटर जेट खसालेको दावी गरेको छ ।
-1750324582.jpg)
इजरायलको आक्रमणपछि इरान र अमेरिकाबीच पूर्वनिर्धारित न्युक्लियर वार्ता पनि रद्द भएको छ ।
आइतबार इजरायलले इरानका ३ वटा तेल तथा ग्यास भण्डारमा आक्रमण गर्यो । त्यसले इरानमा ठूलो क्षति पुगेको बताइएको छ ।
इरानले इजरायली आक्रमण जारी रहँदा मुस्लिम देशहरूलाई एक हुन अपिल गर्यो । उता इरानी रक्षा मन्त्रालयलाई निशाना साँध्दै इजरायलले पुनः अर्को आक्रमण गर्यो ।
त्यस्तै इरानले गरेको आक्रमणका कारण इजरायलको हाइफा रिफाइनरी सेन्टरमा क्षति पुग्यो ।
सोमबार इरानले इजरायलमाथि भीषण आक्रमण गर्यो । जसमा परी कम्तिमा ८ जना मारिए भने २०० भन्दा बढी व्यक्तिहरू घाइते भए ।
-1750324580.jpg)
इजरायलले इरानको विदेश मन्त्रालयमाथि आक्रमण गर्यो । उता इरानले इजरायलको अर्को एफ३५ लडाकु विमान झारेको दावी गर्यो ।
मंगलबार इरानले इजरायलस्थित खुफिया एजेन्सी मोसादको हेर्डक्वाटरमा आक्रमण गर्यो । २१ मुस्लिम देशले इजरायलले इरानमाथि गरेको आक्रमणको निन्दा गरे ।
सोही दिन इरानमा रहेका ६०० भन्दा बढी विदेशी नागरिक अजरबैजानको बाटो हुँदै इरान छाडेर बाहिरिए ।
बुधबार इजरायली ह्याकर्सहरूले इरानी सरकारी टीभी आईआरआईबीलगायत न्युज च्यानलहरू ह्याक गरे । त्यसपछि ती च्यानलहरूमा इरानी सरकारविरुद्ध विद्रोहको अपिल गरिएका सामग्रीहरू प्रसारित हुन थाले ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनासर्त वार्ताका लागि चेतावनी दिएका छन् । ट्रम्पले इरानका सर्वोच्च नेता आयोतल्लाह अली खामेनी कहाँ लुकेर बसेका छन् भन्ने कुराको जानकारी आफूलाई भएको पनि उल्लेख गरेका छन् ।
इरानका सुप्रिम लिडर खामेनेइले इरानले आत्मसमर्पण नगर्ने दृढता व्यक्त गरेका छन् । साथै इरानले आफ्ना नागरिकहरूलाई ह्वट्सएप डिलिट गर्ने आग्रह गरेको छ । ह्वाट्सएपले इरानविरुद्ध जासुसी गरेको इरानो आरोप थियो ।
-1750324580.png)
यसका साथै इरानले इजरायलविरुद्ध फताह मिसाइलले आक्रमण गरेको छ । साथै उनले इजरायलविरुद्ध युद्धको घोषणा पनि गरेका छन् ।
यसका साथै इरानमाथि आक्रमणको योजनालाई मन्जुरी दिएका छन् । अब फाइनल आदेश दिने अधिकार ट्रम्पमा रहेको छ ।
उता खामेनीले भने इरानले कहिल्यै आत्मसमर्पण नगर्ने पनि उल्लेख गरेका छन् । साथै उनले युद्ध सुरु भएको पनि जनाएका छन् ।
अमेरिकाले आक्रमण गरे इरानले पनि त्यसको जवाफी आक्रमण गर्ने चेतावनी दिएको छ । जसका कारण यो क्षेत्रमा युद्ध झन् चर्किने आशंकाहरू गरिएका छन् ।
पछिल्लो संघर्षमा परी सयौँ मानिसहरू मारिएका छन् भने हजारौँ घाइते भएका छन् ।
नेपाल के गर्दैछ ?
युद्ध चर्किंदै जाँदा नेपालले पनि इजरायलमा रहेका नेपालीहरूलाई उद्धार तथा स्वदेश फर्काउनका लागि पहल थालेको छ । बुधबार इजरायलस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै त्यसका लागि गुगल फर्म भर्न आग्रह गरेको छ ।
दूतावासले समस्यामा रहेका नेपालीहरूलाई आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम सुरु गरिएको जनाएको छ ।
उता परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो ।

इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नसमेत सूचनामा उल्लेख छ ।
इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपाली नागरिक हालसम्म सुरक्षित रहेको र उनीहरूको हितको रक्षा गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ ।
स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि हाल इजरायल र इरानको हवाईमार्ग बन्द रहेका कारण तेस्रो मुलुक हुँदै नेपाल फर्कनु परेमा तेस्रो मुलुकको ‘ट्रान्जिट भिसा’ लिनुपर्ने अवस्था आउन सक्ने भएकाले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर/सेल्टरबाट बाहिर ननिस्कन मन्त्रालयले अनुरोध गरेको छ । साथै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रुपमा लिन र पालना गर्न अनुरोध गरिएको छ ।
मन्त्रालयले नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रूपमा सम्पर्कमा रहन, परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ ।
सङ्कट आइपरेमा उद्धार तथा सहायता र ‘ट्रेकिङ’ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको ‘वेबसाइट’मा राखिएको ‘अनलाइन लिङ्क’मा दर्ता गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्न अनुरोध गरिएको छ ।
अमेरिकाको संलग्नताबारे रुसले के भन्यो ?
रुसले इजरायल-इरानबीचको जारी संघर्षमा अमेरिकाले इरानमाथि गर्न सक्ने सम्भावित आक्रमणबारे प्रतिक्रिया दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोबले अमेरिकाले इरान र इजरायलबीचको युद्धमा दखल दिएमा स्थित अझ विग्रने चेतावनी दिएका छन् । त्यसो भए स्थिति खतरनाक हुन सक्ने उनको चेतावनी छ ।
उता हिजबुल्लाहले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई हत्या गर्ने चेतावनी दिइएकोमा आपत्ति जनाएको छ । यसले मुस्लिम समुदाय र खामेनीलाई मान्नेहरूको अपमान भएको हिजबुल्लाहले जनाएको छ ।