काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले किसानले बाली लगाउने र बीउ छर्ने बेलामा नै मलखादको हाहाकार भएको बताएका छन् । मलखादको हाहाकार मच्चाएर दुई तिहाईको बलियो सरकारले खुलेआम कालोबजारी गरिरहेको बताउँदै उनले अन्नदाता किसानलाई बचाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
प्रतिनिधि सभाको आजको बैठकमा साहले तराई मधेशसहित पहाडका किसानहरू मलको अभावले तड्पिरहेको उनको भनाइ छ । ‘अहिले मल, खादको अभाव छ, हाहाकार छ, बाली लगाउने बेला, बीउ छर्ने बेलामा नै किसानले मल पाएका छैनन् । मल पाए पनि दुईदेखि तीन गुणा महँगोमा पाएका छन् । त्यो पनि सरकारी निकायले दिने ठाउँमा होइन, पसलहरूमा,' साहले भने ।
'सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु–यो मल खरिद र वितरणको जिम्मा तपाईंको हो कि होइन ? केन्द्रीय सरकारको हो कि होइन ? यदि हो भने किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?,’ साहले भने ।
पूर्वमन्त्री साहले नेपालको मूल आयस्रोत भनेको नै कृषि क्षेत्र भएको उल्लेख गरे । तर, कृषि क्षेत्रमा नै विभेद गरिएको कुरा भने पीडादायी भएको उनको गुनासो छ । किसानलाई मलखाद उपलब्ध गराउने जिम्मेवारी सरकारको भए पनि सरकार मौन बसेर किसानसँग खेलवाड गरिरहेको उनले बताए ।
‘नेपालमा ३० लाख हेक्टर जग्गा, जहाँ ११ लाख मेट्रिक टन खाद्य चाहिन्छ, तर सरकारले पाँच लाख मेट्रिक टनको ठेग्गा गर्छ, तर त्यो पाँच लाख आयो त ? म सम्मानीय प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु । अहिलेसम्म तीन लाख मेट्रिक टन नेपाल आएको हामी सुनिराखेका छौँ । आवश्यकत्ताभन्दा तीन गुणा कम उपलब्ध गराएर के सन्देश दिन खोजिँदै छ,' उनले भने ।
सरकारले किसानलाई मलखाद दिन पनि नसक्ने र यदी कुनै तरिकाले भारतबाट किसानले खाद्य ल्यायो भने प्रहरीले खोस्ने र लुट्ने काम गरेको उनले बताए । भारतमा आफैँ खादको अभाव रहेको र किसानले एकदुई बोरा खाद ल्याउँदा प्रहरीले खोस्नु गलत भएको उनले बताए ।