काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय विभुति माता सीता (जानकी) जयन्ती नमनाएको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारले सीता जयन्ति नमनाएर लैंगिक विभेद गरेको पनि टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा साहले प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन धुमधामका साथ मनाउने गरेको भन्दै राष्ट्रिय विभुति सीताको जन्मदिन किन धुमधामसंग नमनाएको भन्दै प्रश्न गरे ।
‘आज माता सीता (जानकी) को जन्मदिन । जानकी जयन्तिको अवसरमा म सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु । म सरकारसंग सोध्न चाहन्छु, जानकी जयन्तीको बारेमा सरकारलाई थाहा छ की छैन् ?’ साहले भने, ‘श्रीरामको जन्मदिन रामनवमी हामी मनाउँछौँ त्यो खुसीको कुरा हो, सरकारले बिदा पनि दिन्छ । तर जानकी जयन्तीलाई किन व्यवस्ता गरेको भन्ने प्रश्न गर्न चाहन्छु । के अहिलेको २१औँ शताब्दीमा लैंगिक विभेद गर्न मिल्छ ?’
जानकी जयन्तिमा बिदा नदिएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारले लैंगिक विभेद गरेको आरोप पनि साहले लगाए । ‘एउटा राष्ट्रिय विभुति सीता जो नेपालको गौरब हुन् । उहाँको सम्मान गर्न बेवास्ता गर्न मिल्छ ? म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु तपाईं त आफ्नो जन्मदिन धुमधामकासाथ मनाउँनुहुन्छ । सीताको जन्मदिन कसरी बिर्सिनुभो ?’ साहले प्रश्न गरे ।
विश्वका अन्य व्यक्तिको जन्मदिन धुमधामसँग मनाउने गरिएको बताउँदै उनले आफ्नै देशको राष्ट्रिय विभुतिलाई विर्सिन नसकिने बताए । तर सरकारले सीता जयन्तिमा बिदा नदिने, जन्मजयन्ति नमनाउने गरेको प्रति उनले उनले आपत्ति जनाए । जानकी जयन्ती नमनाएर सरकारले लैंगिक विभेद गरेको साहको आरोप छ ।
यसअघि प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा आफू मन्त्री हुँदा सीता जयन्ति मनाउन प्रस्ताव गरेकोमा सरकारले नसुनेको गुनासो समेत उनले गरे ।
‘म कुनै बेला अहिलेको प्रधानमन्त्री ओलीकै क्याबिनेटमा थिएँ । र मैले धेरै प्रयास गरे, बिदा नदिए पनि क्यालेन्डरमा ठाउँ दिनुस् । ताकी नेपाली जनतालाई थाहा होस् की सीता जन्मेको डेट कुन हो । क्यौँ व्यक्ति जन्मे तर उनका जन्ममिति हामीलाई थाहा छैन । तर सीताजीको जन्मदिन त सबैलाई थाहा छ । त्यसलाई इन्ट्रो गर्न पनि मान्नुभएन,’ साहले भने, ‘म नेपाली कांग्रेसलाई भन्न चाहन्छु । अहिले त तपाईंहरू त्यहाँ हुनुहुन्छ क्याबिनेटमा, अलिकति त विचार गर्नुस् । राष्ट्रिय विभुतिको अपमान गर्ने छुट कसैलाई छैन ।’
‘यदि राष्ट्रिय विभुति हामीले स्वीकार्छौं, सीता नेपालको गौरव हो भन्ने मान्छौँ । हाम्रो संविधानले लैंगिक विभेदलाई अन्त्य गर्न भनेको छ । तर यो विभेद किन ? श्रीमानको जन्मदिन मनाउने तर श्रीमतीको जन्मदिनलाई व्यवस्ता गर्ने यो हामीलाई स्वीकार्य छैन । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु आउने वर्षको क्यालेण्डरमा सीता जयन्ती होस्,’ साहले भने ।